Thursday, July 30

आसिफ शाहले लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

नेपालअखबार,काठमाडाैँ ।  फिल्म निर्माता एमव् टेलिभिजन प्रस्तोता आसिफ शाहले रास्वपाको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्।

Advertisement

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको बताउँदै समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्।

Advertisement
Advertisement

यद्यपि आफ्नो मनभित्र देश बन्नुपर्छ भन्ने हुटहुटी सँधै जीवित रहेको उनले बताएका छन्।

Advertisement

‘आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो,’ उनले भनेका छन्।

शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना रहेको भनेर यसअघि नै भनेको पनि बताए।

‘तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो,’ उनले भनेका छन्।

रास्वपाबाट समानुपातिक सूची सार्वजनिक भएपछि त्यसमा परेका व्यक्तिहरूको विषयमा लिएर रास्वपाभित्रै विवाद भएको थियो।

उक्त सूचीमा परेका नामहरूलाई लिएर जेनजी अभियानीहरूले पनि असन्तुष्टी जनाएका थिए। शाहले यसबाट आफूलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनाएको पनि लेखेका छन्।

‘नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो। देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ,’ उनले लेखेका छन्।

उनले अन्य व्यक्तिहरूलाई पनि उम्मेदवारी फिर्ता लिएर पार्टी र जनताको भावनाअनुसार दुई कदम पछि हट्न अनुरोध गरेका छन्।

आसिफ मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा समानुपातिक सूचीमा थिए।

यसअघि गायिका त्रिसला गुरूङले पनि रास्वपाको समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेकी थिइन्।