Tuesday, July 14

श्रीमानको कुटपिटपछि मृत्यु भएकी गर्भवतीको अन्त्येष्टि गर्नै लाग्दा पुग्यो प्रहरी

नेपालअखबार, दाङ ।  श्रीमानको कुटपिट बाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन्।

Advertisement

दाङको  शान्तिनगर गाउँपालिका – २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए।

Advertisement
Advertisement

कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गत नेपालगन्जको केयर सिटी अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement

उनको उपचार क्रममै पुस १८ गते बिहान ११ मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।

कुटपिटबाट मृत्यु भएकी खिमीको शव परिवारले घरमा ल्याएर अन्त्येष्टि गर्न लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।

सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट  प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले अन्त्येष्टि कार्य रोकेर शव पोस्टमर्टमका लागि अस्पताल पठाएको थियो।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मृतकका श्रीमान फरार थिए। उनलाई सोही रातको ११ बजे तुलसीपुर उपमहानगरपालिका-५ न्युरोडस्थित एउटा गेस्ट हाउसबाट पक्राउ गरिएको थियो।

खिमीकी आमा राममाया दमाइले पुस १९ गते सुमनविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।

सुमनलाई ७ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले आइतबार अनुमति प्रदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी  शाहले जानकारी दिएका छन् ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी पराजुलीका अनुसार सुमन गाडीमा सहचालकको काम गर्थे। खिमी परियार चार महिनाकी गर्भवती थिइन्।

श्रीमान गाडीको सहचालक भएका कारण उनी श्रीमानले बोलाउँदा  सजिलोका लागि कहिलेकाही होटलमा बस्न जान्थिन्।

त्यही क्रममा पुस १२ गते उनीहरुको बीच सामान्य विषयमा विवाद भएको थियो। विवादकै क्रममा सुमनले श्रीमतीलाई धकेलेपछि खिमी खाटमा ठोक्किएकी थिइन्। खाटको काठले उनको कोखामा लागेको थियो।

त्यो चोटका कारण उनको पेटमा इन्फेक्सन भएपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचारपछि थप उपचारका लागि नेपालगंज पठाइएको थियो। नेपालगंजमै उनको मृत्यु भएको हो।

गर्भवती खिमीको मृत्युपछि सुमनको परिवारले अन्त्येष्टिका लागि लैजाँदै गरेको सूचना एक स्थानीयले फोन मार्फत दिएका थिए। त्यसपछि इलाका प्रहरीबाट प्रहरी प्रमुख डिएसपी पराजुली आफै पुगेर शव राकेर अस्पताल पुर्‍याएका थिए।

पोस्टमर्टम लगायतको प्रक्रिया पूरा भई आरोपी पक्राउ गरी उनका बिरुद्ध किटानी जाहेरी परेपछि मात्रै खिमीको अन्तेष्टि कार्य भएको थियो।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।