Thursday, July 9

झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

नेपालअखबार,झापा ।  झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रू एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई रू एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए ।

Advertisement

यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने एउटा हात्ती मृत फेला परेको उनले बताए । हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई रू चार लाख, मृतक चार जनाको परिवारलाई रू ४० लाख, १० वटा पशुधन क्षतिवापत रू एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत रू १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत रू ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पुर्याएबापत रू ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement

राहत उपलब्ध गराइएकामध्ये गत आर्थिक वर्ष २०८१/८२ का सात सय दुई जना रहेका छन् भने चालु आवमा हात्तीबाट पीडित बनेका एक सय ८१ जनालाई राहत प्रदान गरिएको हो थप ११ परिवारलाई रू २१ लाख राहतका लागि सिफारिस गरिएको छ । केही दिनमै उनीहरुलाई समेत राहत रकम उपलब्ध गराइने पाठकले बताए ।

Advertisement

राहत प्रक्रियालाई सहज बनाउन जिल्लाका चार स्थानमा रहेको सब डिभिजन कार्यालयबाट पीडितले निवेदन व्यवस्था गरिएको छ । मेची सब डिभिजन, कनकाई सब डिभिजन, जलथल सब डिभिजन र दमक सब डिभिजनबाट वन्यजन्तु पीडितले सरकारले उपलब्ध गराउने राहतका लागि निवेदन दिन सक्ने पाठकले बताए ।

राहत प्रक्रिया झन्झटिलो भएकालेसमेत समयमै राहत वितरण गर्न नसकिएको वन कार्यालयका कर्मचारी बताउँछन् । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रू १० लाख, घाइतेलाई अधिकतम रू दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षतिको भएको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आइएको छ ।

क्षति घटाउन गस्ती

डिभिजन वन कार्यालयले हात्तीबाट धानबाली जोगाउन र क्षति न्यूनीकरणका लागि गस्ती टोली परिचालन गरेको थियो । यसका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम क्षति भएको वन अधिकृत पाठकले बताए ।   “धानबाली जोगाउन र भारतबाट हात्ती प्रवेश रोक्न वन रक्षकको टोली परिचालन गरेका थियौँ”, उलले भने, “जसका कारण अघिल्लो वर्षभन्दा कम क्षति भएको छ ।” मानवीय क्षति हुन नदिने मुख्य उद्देश्य रहेको बताउँदै उनले भने, “अब मकैको सिजनमा पनि पुनः गस्ती हुन्छ ।”

गाडीसहित सात जना सशस्त्र वन रक्षकको टोलीले मेचीनगरस्थित मेची नदीमा गस्ती गरेर हात्ती प्रवेश रोक्ने, हात्ती प्रवेशबारे जानकारी दिने, हात्ती उतै फर्काउने काम गर्ने गरेका छन् । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविक मार्ग निर्माण, वन क्षेत्रमा हात्ती आहाल (पोखरी निर्माण), फलफूलका बिरुवा रोपण, गस्ती लगायतका क्रियाकलाप हुँदै आए पनि मानव हात्तीद्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।