
नेपालअखबार,मकवानपुर । हेटौँडा पुगेका नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमार्फत जनताले महसुस गर्ने खालको परिवर्तन नभएको बताए ।
उनले देशका लागि निर्णायक रूपमा लड्नुपर्ने समय आएको बताए । प्रसाईँले आगामी २१ फागुनमा गर्ने भनिएको निर्वाचन बहिष्कार गर्न पनि उनले आव्हान गरे ।
अहिलेको प्रमुख आवश्यकता चुनाव नभएर व्यवस्था र नेतृत्वप्रति जनताको असन्तोषलाई सम्बोधन गर्नु भएको उनले बताए ।
उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेर वर्तमान सरकार गठन गरिएको आरोप लगाए । ’सुशीला कार्की नेतृत्वको सरकार पश्चिमाहरूको डिजाइनमा बनेको सरकार हो ।
फेरि पनि निर्वाचन मार्फत पश्चिमी शक्तिहरूले आफ्नो इशारामा चल्ने व्यक्तिलाई नेपालमा प्रधानमन्त्री बनाउन खोजिरहेका छन्,’उनले भने ।
नेपाललाई युक्रेन जस्तो बनाउने र धेरै ‘जेलेन्स्की’ उत्पादन गर्ने दुष्प्रयास भइरहेको पनि उनको दाबी छ । देशको सार्वभौमिकता र जनताको हित विपरीत हुने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै उनले त्यसको विरुद्ध लड्न तयार रहन आग्रह गरे ।
कार्यक्रममा प्रसाईँले हेटौँडामा भइरहेको सडक विस्तारप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे । बस्तीको बिचबाट सडक विस्तार गर्नु कुनै पनि हालतमा सही नहुने भन्दै मुख्य राजमार्ग बाइपास हुँदै लैजानुपर्ने उनको धारणा थियो । सरकारले बस्ती नै उठिबास गराउने शैली अपनाएको आरोप लगाउँदै उनले विश्वका कुनै पनि देशमा बस्तीको बिचबाट राजमार्ग विस्तार गर्ने प्रचलन नरहेको बताए ।
उनले सडक विस्तारका कारण हेटौँडाका व्यवसायी दोहोरो मारमा परेको बताए। एकातर्फ सडक विस्तारले व्यवसाय विस्थापित भएको र अर्कोतर्फ बैंकको उच्च ब्याजदरले आर्थिक भार थपिएको उनको भनाइ थियो ।
हेटौँडाका अधिकांश व्यवसायी गम्भीर आर्थिक सङ्कटमा रहेको उल्लेख गर्दै प्रसाईँले सडक विस्तार प्रभावितले क्षतिपूर्ति पाउन ठुलो आन्दोलन नगरी सम्भव नहुने चेतावनी पनि दिए ।

