Sunday, July 26

इरानको स्थिति खराब: प्रदर्शनका क्रममा प्रहरीको हत्या, इन्टरनेट सेवा समेत बन्द

नेपालअखबार,काठमाडौँ । इरानमा बढ्दो महँगी र आर्थिक संकटका विरुद्ध सुरु भएको भनिएको जारी  जनप्रदर्शनले उग्र रूप लिँदै गएको छ। देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको यो आन्दोलन अहिले सरकारका लागि ठुलो चुनौती बनेको छ।

Advertisement

पछिल्लो हिंसात्मक झडपका क्रममा एक प्रहरी अधिकारीको छुरा प्रहार गरी हत्या गरिएको छ भने प्रदर्शनका क्रममा अहिलेसम्म ८ बालबालिकासहित ४५ जनाले ज्यान गुमाइसकेका छन्। सुरक्षा बलले हालसम्म २ हजार २७० भन्दा बढी प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको छ।

Advertisement
Advertisement

स्थिति नियन्त्रण बाहिर जान थालेपछि इरानी सरकारले कडा कदम चाल्न सुरु गरेको समाचारहरूमा उल्लेख छ। राजधानी तेहरानको विमानस्थल बन्द गरिएको छ भने देशभर इन्टरनेट र फोन सेवा पूर्ण रूपमा ठप्प पारिएको छ। सेनालाई अलर्ट अवस्थामा राखिएको छ। सञ्चार सेवा बन्द गरिए पनि प्रदर्शनकारीहरूले विभिन्न वैकल्पिक माध्यमबाट भिडियोहरू सार्वजनिक गरिरहेका छन्, जहाँ ‘खामेनीको अन्त्य’ र ‘इस्लामिक गणतन्त्रको पतन’ जस्ता नाराहरू घन्किएको देखिन्छ। धेरै ठाउँमा प्रदर्शनकारीहरूले देशको राष्ट्रिय झन्डा जलाउनुका साथै सडकमा आगजनी गरेर आवागमन ठप्प पारेका छन्।

Advertisement

यो आन्दोलन चर्कनुको मुख्य कारण इरानको जर्जर आर्थिक अवस्थालाई मानिएको छ। इरानी मुद्रा रियालको मूल्य इतिहासकै न्यून विन्दुमा पुगेको छ भने खाद्यान्नको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ। सरकारले आगामी बजेटमा करको दर ६२ प्रतिशतले बढाउने प्रस्ताव गरेपछि आम जनतामा आक्रोश थपिएको हो। खासगरी ‘जेनजी’ भनिने युवा पुस्ता यो आन्दोलनको अग्रपङ्क्तिमा देखिएका छन् । जसले धार्मिक शासनको सट्टा लोकतान्त्रिक र धर्मनिरपेक्ष व्यवस्थाको माग गरिरहेका छन्।