Saturday, July 11

‘रवि लामिछानेले फोन नै नउठाएपछि रास्वपासँगको एकता तोडियो’

नेपालअखबार,काठमाडौँ । उज्यालो नेपाल पार्टीका नेता श्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रियामा गम्भीर धोका भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विश्वास गरेर पार्टी र नेतृत्व बुझाए पनि रास्वपा नेतृत्वले अपमानजनक व्यवहार गरेको र सहमति लत्याएको भन्दै गुरुङले सामाजिक सञ्जालमार्फत एकताको ढोका बन्द भएको बताएका हुन्।

Advertisement

समानुपातिकतर्फका ११० जना उम्मेदवारको सूचीमा आफ्ना १४ जना उम्मेदवारलाई निकै तल राखिएपछि मन चिसिएको उल्लेख गर्दै गुरुङले एकताको लक्ष्यका लागि आफूहरूले धैर्यता रोजेको बताएका छन्। तर, आफ्ना नेतृत्वलाई पाँचौँ नम्बरको वरीयतामा धकेल्ने, केन्द्रीय सदस्यहरूलाई १२ जनामा मात्र सीमित गरेर उपहास गर्ने र ३० प्रतिशत उम्मेदवारीको सुरुवाती सहमति विपरीत अपमानजनक प्रावधान राखिएपछि स्थिति बिग्रिएको उनको भनाइ छ।

Advertisement
Advertisement

गुरुङका अनुसार एकता बचाउन अन्तिम समयसम्म प्रयास गरिए पनि रास्वपा सभापति रवि लामिछानेले संवादको ढोका बन्द गरेका थिए। उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले पटक–पटक फोन गर्दा समेत लामिछानेले फोन नउठाएको गुरुङले खुलासा गरेका हुन्। ‘१२ दिनको इमानदार मेहेनत सिसा झैँ चकनाचुर भयो, रविज्यूले कुलमान ज्यूको फोन उठाउनुभएन,’ गुरुङले आक्रोश पोख्दै लेखेका छन्।

Advertisement

पछिल्लो समय सामाजिक सञ्जालमा आधारहीन आरोप लगाइएको र आफूहरूको मौनतालाई कमजोरी ठानिएको भन्दै उनले अब आत्मसम्मानका लागि सम्झौता नगर्ने चेतावनी दिएका छन्। समानुपातिक पद गुमे पनि देश समृद्ध बनाउने लक्ष्य र प्रतिबद्धता अझ बलियो भएको बताउँदै गुरुङले छलकपटको अन्धकार चिर्न आफ्ना शुभचिन्तकहरूलाई आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा आफूहरू कमजोर देखिए पनि राष्ट्र सेवामा हजारौँ गुणा सक्षम रहेको दाबी गर्दै उनले आगामी दिनमा उज्यालो भविष्यका लागि नयाँ ढंगले अघि बढ्ने उद्घोष गरेका छन्।