Tuesday, February 3

माघे सङ्क्रान्ति नेपाली समाजलाई जोड्ने साझा पर्व हुन् : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले माघे सङ्क्रान्ति तथा माघी पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै नेता खनालले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै आएको बताए ।

Advertisement

उनले माघे सङ्क्रान्ति तथा माघी पर्व हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजातिका समुदायले आ-आफ्ना मौलिक रीतिरिवाज र परम्पराअनुसार मनाउँदै आएको साझा राष्ट्रिय पर्व भएको उल्लेख गरे ।

खनालका अनुसार माघे सङ्क्रान्ति तथा माघी पर्व उधौली र उभौलीको सीमाका रूपमा पनि रहेको छ, जसले प्रकृति, समयचक्र र मानव जीवनबिचको सम्बन्धलाई उजागर गर्दछ । यस्ता पर्वहरूले नेपाली समाजमा परम्परागत मौलिक संस्कृतिको संरक्षण हुनुका साथै आपसी भाइचारा, पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउने उनको भनाइ छ ।