Saturday, September 19

सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो

नेपालअखबार,काठमाडौं ।  केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे।

Advertisement

सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए। आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ। माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे।

Advertisement
Advertisement

ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्‍याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए। उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन्।

Advertisement

‘कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौं भनेपछि सबै प्रक्रिया पुर्‍याएर पठाएको हुँ। गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ,’ उनले भने।

गत जुनमा उनीहरू यहाँ आएका थिए। दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो। ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर जाने। ‘पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो। पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ,’ उनले भने।

कुकुर अमेरिका पुर्‍याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाए। ‘मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ। अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु,’ ढकालले भने।