
नेपालअखबार,काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन नसर्ने बताएका छन् ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताएका हुन् ।
‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्योभन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ,’ उनले भने, ‘ निर्वाचन गर्ने र गराउने जिम्मेवारी भनेको सरकारको मात्रै होइन । निर्वाचन आयोगको हो । राजनीतिक दलको हो । अरू सरोकारवाला पनि छन् । चुनाव यताउता हुँदैन ।’
उनले अन्य कुरा भने निर्वाचन आयोगको अधिकारको विषय भएको भन्दै आयोगको निर्णयको पर्खनु पर्ने बताए ।‘फागुन २१ को निर्वाचन यताउता हुँदैन । बाँकी निर्वाचन आयोगको जिम्मेवारी हो । उसको अधिकारको कुराहरूमा निर्वाचन आयोगकै निर्णय पर्खनुपर्यो,’ उनले भने ।

