Thursday, July 30

चुनावमा सामाजिक सञ्जालको निगरानी सेनाले गर्ने, ‘नो नट अगेन’ भन्नेसमेत कारबाहीमा पर्ने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा कडाइ गर्ने संकेत गरेको छ । आयोगले सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई नियमन गर्न नेपाली सेनाको सहयोग लिनेदेखि ‘नो, नट, एगेन’ अभियान चलाउनेलाई कारबाही गर्नेसम्मको तयारी गरेको हो ।

Advertisement

आचारसंहिता कार्यान्वयनका विषयमा शुक्रबार राजनीतिक दलहरूसँग भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा कुनै दल वा उम्मेदवारविरुद्ध ‘नो, नट, एगेन’ भन्दै प्रचार गरे कारबाही हुने चेतावनी दिए । उनले आयोगका पदाधिकारीलाई धम्की दिने र आचारसंहिता मिच्ने कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।

Advertisement
Advertisement

निर्वाचनमा हेलिकप्टर प्रयोग गर्न नदिए ‘आयोगबाट हटेपछि देखाइदिन्छु’ भनी सन्देश पठाउनेहरूबाट आफूहरू नडराउने भण्डारीको भनाइ छ । उनले सामाजिक सञ्जालका कन्टेन्ट नियमन गर्न मेटा लगायतका कम्पनीलाई अनुरोध गरिसकेको र दल वा उम्मेदवारले मतदातालाई पैसा बाँडेको सूचना मात्र पाए पनि कारबाही गर्ने बताए ।

Advertisement

छलफलमा निर्वाचन आयुक्त सगुनशम्शेर जङ्गबहादुर राणाले उम्मेदवार र तिनका परिवारका सदस्यको बैंक खातामा निगरानी गरिने जानकारी दिए । चुनावमा अनियमित रूपमा पैसाको चलखेल बढेको गुनासो आएपछि आयोगले यस्तो कदम चाल्न लागेको हो । राणाले ‘सोसल मिडिया’ अनुगमनका लागि नेपाली सेनाको सहयोग लिइने बताए । सेनासँग आधुनिक उपकरण भएकाले सामाजिक सञ्जालको निगरानी प्रभावकारी हुने उनको भनाइ छ । साथै, पहिलो पटक आचारसंहितामा प्लास्टिकजन्य सामग्री प्रयोग नगर्ने विषय समेटेर ‘हरित निर्वाचन’ को अवधारणा अघि सारिएको छ ।

आयोगको प्रस्तावमा दलका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सूचना प्रविधिको दुरुपयोग रोक्न आयोगले ध्यान दिनुपर्ने बताए । उनले समानुपातिकतर्फका सबै ११० उम्मेदवारको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अव्यावहारिक भएको भन्दै पुनर्विचार गर्न आग्रह गरे ।

नेकपा एमालेका सचिव राजन भट्टराईले आचारसंहिताका कतिपय प्रावधान सच्याउनुपर्नेमा जोड दिए । मनोनयन दर्तामा २५ जनाभन्दा बढी जान नपाइने, प्रचारमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाइने र उम्मेदवारी दर्तापछि प्रचारका लागि दिइने छोटो समय अव्यावहारिक भएको उनको तर्क छ । उनले मन्त्री वा पदमा रहेका व्यक्तिले सरकारी स्रोतसाधन दुरुपयोग नगरी प्रचार गर्न पाउनुपर्ने सुझाव दिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले दल र उम्मेदवार स्वअनुशासनमा बस्नुपर्ने भन्दै प्रविधिमार्फत विद्वेष फैलाउने कार्य रोक्न आयोगसँग बलियो संयन्त्र हुनुपर्ने बताए । साना दलका प्रतिनिधिहरूले भने आयोगले ठूला दललाई उन्मुक्ति दिने र सानालाई मात्र आचारसंहिताको डण्डा चलाउने गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।