Sunday, April 26

कर्णालीका एक डाक्टरले तिरिदिए किसानको डेढ लाख ऋण

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले तिरिदिएको डा. केसीले बताए ।
वीरेन्द्रनगर–१, सुर्खेत निवासी डा. केसी भन्छन्, ‘कर्णाली दुर्गम वा सुगम होइन, मेरो घर हो । त्यसैले भत्ता आफ्नालागि खर्च गर्नुभन्दा समस्यामा परेका विपन्न किसानका लागि खर्च गर्न उपयुक्त ठानेँ ।’
किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर डेढ लाख पुगेछ । अहिले डाक्टरले तिरिदिनुभयो,’ उनले भने, ‘डाक्टर बाबुलाई धन्यवाद बाहेक के दिन सक्छु र ।’
डा. केसी लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले कर्णालीका दुर्गम गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनकै अगुवाइमा प्रदेश राजधानी वीरेन्द्रनगरलाई सफा र हरियाली बनाउन ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलिरहेको छ । साेत अनलाइनखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *