Thursday, July 9

माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने मूल समारोह समितिको निर्णय

नेपालअखबार,काठमाडौँ । माघ १० गते शनिवारदेखि यस बर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय गरेको हो ।

Advertisement

१९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्नुभएको थियो । त्यसपछिका विभिन्न राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहितको योगदान स्मरण गर्ने तथा सम्मान गर्नु सप्ताहव्यापी कार्यक्रम आयोजनाको उद्देश्य हो । नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

Advertisement
Advertisement

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष ईश्वरमान डंगोल, नेपाली सेनाको समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी धिरन अधिकारी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक बालनरसिंह राणा, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्की, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत सुजनकुमारी वर्देवाअधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । यस्तै प्रशासन विभाग, महानगर प्रहरी बलका अधिकारीसहितको उपस्थिति थियो ।

Advertisement

सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरु स्मृति सभाका लागि भेला हुनुहुनेछ । यी कार्यक्रम आयोजना हुने स्थलसँग सम्बन्धित वडालाई कार्यक्रम सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

वि. सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उहाँहरुलाई प्राणदण्ड दिइएको हो ।

राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई माघ १० गते टेकु मचलीस्थित खरिबोटमा, १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा नागरिक अधिकारका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

वि. सं. २००७ सालमा प्रजातन्त्र आएपछि २०१७ सालमा एकतन्त्रीय शासन प्रारम्भ भयो । प्रजातन्त्र पुनःप्रप्तिका लागि २०४६ साल आन्दोलन भयो । लोकतन्त्रका लागि २०६२÷०६३ सालमा र सुशासन प्राप्त गर्न २०८२ भदौ २३ र २४ गते परिवर्तनकारी आन्दोलन भएका छन् । यी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मान दिवस मनाउनेको उद्देश्य हो ।