Wednesday, March 4

प्रतिनिधि सभा निर्वाचन आउन ४१ दिन बाँकी, आज चुनाव चिह्न वितरण

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

Advertisement

२१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।  माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यसपछि विहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको थियोे ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारी दर्ता भएको थियोे ।  कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।