Friday, April 24

भोट मात्रै होइन, पारिवारिक सम्बन्ध जोड्दै नेता आले

कैलाली, १७ माघ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले पछिल्लो समय राजनीतिक भेटघाटसँगै सामाजिक तथा पारिवारिक सम्बन्ध विस्तारमा समेत सक्रिय देखिनु भएको छ । जनतासँगको आत्मीय सम्बन्धलाई प्राथमिकतामा राख्दै उहाँ कैलाली जिल्लाका विभिन्न स्थानमा पुगेर आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आउनु भएको छ ।

Advertisement

 

जेन–जी युवादेखि ज्येष्ठ नागरिकसम्म माझ लोकप्रिय छवि बनाउन सफल नेता आले हाल कैलाली निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका गाउँ–बस्ती तथा टोलटोलमा पुगेर जनताको सुख–दुःख बुझ्ने, उनीहरूका समस्या सुन्ने र सम्भव भएसम्म समाधानका लागि पहल गर्ने कार्यमा व्यस्त रहनु भएको छ । उहाँको यो सक्रियताले स्थानीय बासिन्दामा सकारात्मक सन्देश प्रवाह भएको देखिन्छ ।

 

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पूर्वमन्त्री आले र धनगढी उपमहानगरपालिका–११ निवासी समाजसेवी तथा बुद्धिजीवी राजेन्द्र रानाबीच आज पारिवारिक मित्रताको सम्बन्ध स्थापना भएको छ । दुबै जनाबीच आपसी सहमतिमा मित्रता स्वरूप मितेरी गास्दै पारिवारिक नाता कायम गरिएको हो ।

 

स्थानीय स्तरमा आयोजित एक सादा कार्यक्रममा दुबै पक्षले मितेरी गासेर आपसी विश्वास, सद्भाव र सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भएको बताइएको छ । सामाजिक एकता र आपसी सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ यो सम्बन्ध स्थापित गरिएको जनाइएको छ ।

 

विगतदेखि नै विपन्न, पीडित तथा दुःखमा परेका नागरिकहरूलाई उपचार सहयोग, आर्थिक सहायता तथा अन्य सामाजिक सहयोग गर्दै आउनु भएका नेता आलेलाई स्थानीयले “सुख–दुःखका साथी” का रूपमा लिने गरेका छन् । उहाँको यही व्यवहार र जनतासँगको आत्मीय सम्बन्धले राजनीतिकभन्दा पनि सामाजिक अगुवाको छवि निर्माण भएको स्थानीयको भनाइ छ ।

 

नेता आलेले राजनीति केवल भोट माग्ने माध्यम नभई जनतासँग विश्वास, सम्बन्ध र उत्तरदायित्व जोड्ने प्रक्रिया भएको बताउँदै आउनु भएको छ । उहाँले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

स्थानीयवासीहरूका अनुसार यस्ता सामाजिक तथा पारिवारिक सम्बन्धले राजनीतिक वातावरणलाई समेत सकारात्मक बनाउने र जनप्रतिनिधि तथा जनताबीचको दूरी कम गर्ने विश्वास गरिएको छ ।