Saturday, July 11

अमेरिकाले भारतलाई लगाएको भन्सार शुल्क १८ प्रतिशतमा झार्‍यो, रूसी तेल नकिन्न भारत सहमत

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्।

Advertisement

यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले बताएका छन्।

Advertisement
Advertisement

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत् नयाँ व्यापारिक सम्झौता भएको जानकारी दिएका हुन्।

Advertisement

उनका अनुसार भारतले अब अमेरिकाबाट तेल खरिद गर्नेछ भने सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल किन्न सक्छ।

भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो। भारतले आफूलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल आयातबाट पूरा गर्छ। सस्तो रूसी तेलका कारण युक्रेन युद्धपछि भारतको आयात खर्च घटेको थियो। तर हालै भारतले रूसबाट तेल खरिद क्रमशः घटाउँदै लगेको छ।

ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ लाई बताएअनुसार रूसबाट तेल किनेको विषयलाई लिएर भारतमाथि लगाइएको २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क अमेरिकाले फिर्ता लिएको छ। यसअघि भारतका सबै आयातमा २५ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्क लाग्दै आएको थियो, जसले कुल भन्सार दर ५० प्रतिशत पुगेको थियो।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पसँगको वार्ता सुखद रहेको र ‘मेड इन इन्डिया’ उत्पादनमा १८ प्रतिशत भन्सार लाग्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन्।

‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई यो महत्त्वपूर्ण घोषणाका लागि ठूलो धन्यवाद,’ मोदीले लेखेका छन्।

भारतका वाणिज्यमन्त्री पियुष गोयलले पनि यो सम्झौताले भारत र अमेरिकाको अर्थतन्त्र अझ नजिक ल्याउने बताएका छन्।

भारतसँग नयाँ व्यापार सम्झौताको घोषणापछि अमेरिकी बजारमा सूचीकृत ठूला भारतीय कम्पनीका सेयरमा वृद्धि भएको रोयटर्सले जनाएको छ।

सूचना प्रविधि सेवा कम्पनी ‘इन्फोसिस’ को सेयर ४.३ प्रतिशत र विप्रोको सेयर ६.८ प्रतिशत वृद्धि भयो।

ट्रम्पका अनुसार भारतीय प्रधानमन्त्री मोदीले ‘अमेरिकी उत्पादन धेरै ठूलो परिमाणमा खरिद गर्ने’ प्रतिबद्धता पनि जनाएका छन्।

भारतले कोइला सहित ५ खर्ब डलरभन्दा बढी मूल्यको अमेरिकी ऊर्जा खरिद गर्नुका साथै प्रविधि, कृषि तथा अन्य अमेरिकी उत्पादनको आयात बढाउने सहमति गरेको ट्रम्पले बताएका छन्।

‘भारत अब अमेरिका विरूद्ध लगाइएका भन्सार तथा गैर–भन्सार अवरोधहरू शून्यमा झार्ने दिशामा अघि बढ्नेछ,’ ट्रम्पले भनेका छन्।

विश्व व्यापार संगठन (डब्लुटिओ) का तथ्यांक अनुसार ट्रम्प पुनः सत्तामा फर्कनुअघि भारत विश्वमै उच्च भन्सार दर भएका मुलुकमध्ये एक थियो। भारतको औसत भन्सार दर १५.६ प्रतिशत र प्रभावकारी भन्सार दर ८.२ प्रतिशत थियो।

ट्रम्पको सामाजिक सञ्जाल पोस्टमा सम्झौताका धेरै पक्ष स्पष्ट छैनन्। घटाइएको भन्सार दर कहिलेदेखि लागू हुने, भारतले रूसबाट तेल किन्न कहिलेसम्म बन्द गर्ने, व्यापार अवरोध कसरी हटाइने र भारतले कुन–कुन अमेरिकी उत्पादन किन्न सहमति जनाएको हो भन्नेबारे कुनै ठोस विवरण दिइएको छैन।

सोमबार साँझसम्म ह्वाइट हाउसले सम्झौतासम्बन्धी औपचारिक सूचना प्रकाशित गरेको थिएन, जुन यस्ता नीतिगत परिवर्तन लागू गर्न आवश्यक हुन्छ।

यसअघि जापान र दक्षिण कोरियासँग भएका व्यापार सम्झौतामा अमेरिकी उद्योगमा सयौं अर्ब डलर लगानी गर्ने प्रतिबद्धता समावेश गरिएको थियो। भारतसँगको सम्झौतामा भने यस्तो लगानीबारे केही उल्लेख छैन।

यो सम्झौता भारतले युरोपेली संघ (इयू) सँग हालै गरेको व्यापार सम्झौतापछि आएको हो।