Friday, February 6

वासिङ्टन पोस्टका ३ सयभन्दा बढी पत्रकारले गुमाए जागिर

नेपालअखबार,काठमाडौँ  । विश्वप्रसिद्ध अमेरिकी सञ्चारमाध्यम ‘वासिङ्टन पोस्ट’ ले एकै पटक ३०० भन्दा बढी पत्रकार र कर्मचारीलाई सेवाबाट हटाएको छ । पत्रिकाको व्यवस्थापनले बुधबार बिहान कर्मचारीहरूलाई एक ‘स्टाफ कल’ मार्फत करिब ३० प्रतिशत जनशक्ति कटौती गरिएको जानकारी दिएको हो ।

अमेजनका संस्थापक तथा विश्वका तेस्रो धनी व्यक्तिसमेत रहेका जेफ बेजोसको स्वामित्वमा रहेको यो अखबारले आर्थिक संकट र घट्दो पाठक संख्यालाई कारण देखाउँदै यस्तो कदम चालेको जनाएको छ । ‘यो अत्यन्तै पीडादायी र कठिन दिन हो,’ कार्यकारी सम्पादक म्याट मरेले भने, ‘हाम्रो मोडललाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा यस्तो अप्रिय निर्णय लिनुपरेको हो ।’

Advertisement

खेलकुद र पुस्तक विभाग बन्द पुनर्संरचनाका नाममा पोस्टले आफ्नो खेलकुद विभाग (स्पोर्ट्स डेस्क) र पुस्तक खण्ड (बुक्स सेक्सन) पूर्ण रूपमा बन्द गरेको कोलम्बिया जर्नलिजम् रिभ्यूले लेखेको छ । त्यस्तै, पत्रिकाको पडकास्ट ‘पोस्ट रिपोर्ट्स’ पनि स्थगित गरिएको छ । खेलकुद विभागका केही पत्रकारलाई ‘फिचर डेस्क’ मा सारिए पनि अधिकांशले जागिर गुमाएका छन् ।

अन्तर्राष्ट्रिय ब्युरोमा समेत पत्रकारहरुको कटौती गरिएको छ । भारत, खाडी क्षेत्र, अष्ट्रेलिया र युक्रेनमा कार्यरत ब्युरो प्रमुख र संवाददाताहरूलाई हटाइएको छ । युक्रेन ब्युरो प्रमुख सियोभान ओ ग्रेडी र संवाददाता लिजी जोन्सन पनि हटाइएका पत्रकारहरूको सूचीमा छन् ।

बेजोसको निर्णय र ग्राहकको पलायन केही महिनाअघि अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने सम्पादकीय बोर्डको निर्णयलाई मालिक जेफ बेजोसले रोकिदिएपछि पोस्ट विवादमा तानिएको थियो । उक्त निर्णयपछि करिब २ लाख ५० हजारभन्दा बढी ग्राहकले पोस्टको सदस्यता रद्द गरेका थिए । यसले संस्थाको आर्थिक अवस्था थप नाजुक बनाएको कर्मचारीहरूको बुझाइ छ ।

त्यस्तै, पछिल्लो समय जेनेरेटिभ एआई (कृत्रिम बौद्धिकता) का कारण अनलाइन ट्राफिकमा झण्डै आधाले गिरावट आएको र व्यवस्थापनले एआई सम्बन्धी गरेका प्रयोगहरू समेत विफल भएको समाचारमा उल्लेख छ ।

वासिङ्टन पोस्टका पूर्व कार्यकारी सम्पादक मार्टी ब्यारोनले यसलाई विश्वकै एक महान समाचार संस्थाको इतिहासमा ‘कालो दिन’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘यसले पोस्टको महत्वाकांक्षालाई खुम्च्याउनेछ र जनतालाई तथ्यमा आधारित रिपोर्टिङबाट वञ्चित गर्नेछ।’

वासिङ्टन पोस्ट त्यही अखबार हो जसले सन् १९७४ मा ‘वाटरगेट काण्ड’ मार्फत तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई राजीनामा दिन बाध्य पारेको थियो । तर, पछिल्लो समय डिजिटल युगको चुनौती र मालिकको हस्तक्षेपका कारण यो ऐतिहासिक संस्था संकटको भूमरीमा फसेको कोलम्बिया जर्नलिजनम् रिभ्यूको विश्लेषण छ ।