
नेपालअखबार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
रौतहटका सिडिओ दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहमतिमा सामाजिक सद्भाव कायम गर्ने, आपसी संयमता अपनाउने, कुनै पनि अफवाह नफैलाउने तथा आउँदो फागुन २१ गते हुने निर्वाचनमा शान्तिपूर्ण सहभागिता सुनिश्चित गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ।
यसअघि बिहीबार राति सवगढामा विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा फरक समुदायबाट अवरोध भएपछि विवाद चर्किएको थियो। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको सत्यनारायण साहकी छोरीको विवाहको जन्ती र स्थानीय मुस्लिम पक्षबिच भनाभन हुँदा ढुंगामुढासहित झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पहिलो झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र सबैको अवस्था सामान्य रहेको र उपचार पछी घर फर्किएको प्रहरीले जानकारी दिएको छ।
सोही विषयलाई लिएर शुक्रबार बिहान करिब सवा ९ बजे पुनः चार–पाँच सय जनाको भीड जम्मा भई दोहोरो झडप सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको थियो। स्थिति नियन्त्रणका लागि १२ राउन्ड हवाई (ब्ल्याङ्क) फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन्।
दोस्रो झडपमा स्थानीय ६ जना सहित २ जना प्रहरी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको, उपचारपछि केहीलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।
प्रशासनले सहमतिअनुसार सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न पुनः अपिल गरेको छ।

