Saturday, April 18

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

नेपालअखबार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्।

आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए।

Advertisement

अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति अवैध रूपमा छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन्।

सुरक्षाकर्मीको गोली लागेर ती युवकको मृत्यु भएको छ। घटना भएको बेला राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए भने मार-ए-लागोमा उनका परिवारका अन्य सदस्यहरू रहेको भनिएको छ।

ती युवक   क्यारोलिनाको क्यामरन निवासी अस्टिन टी मार्टिन रहेको पनि सिक्रेट सर्भिसलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

ती युवकका परिवारले आइतबार बिहानै उनी हराएको सूचना स्थानीय प्रहरीलाई दिएको थियो। उक्त विवरण संघीय निकायलाई हस्तान्तरण गरिएको जनाइएको छ।

पाम बीच काउन्टीका शेरिफ रिक ब्राडसका अनुसार सुरक्षाकर्मीले मार-ए-लागो प्रवेश गर्न लागेका ती युवकलाई हतियार भुइँमा राख्न आदेश दिएको थियो।

उनले इन्धनको क्यान तल राखे पनि सटगन उठाएर फायर गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएको थियो।

घटनामा कुनै सुरक्षाकर्मी घाइते भएका छैनन्। एफबिआईले घटनाको अनुसन्धान गरिरहेको छ। बन्दुक लोड गरिएको थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको जनाइएको ५।

घटनापछि सिक्रेट सर्भिसका निर्देशक शन करन फ्लोरिडा पुगेर सुरक्षा व्यवस्थाको समीक्षा गरेका छन्। मार–ए–लागो क्षेत्रमा बाहिरी घेरामा स्थानीय शेरिफ र भित्री घेरामा सिक्रेट सर्भिस परिचालित रहने कडा सुरक्षा प्रबन्ध रहँदै आएको छ।

राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमणको प्रयास भएको थियो।

सन् २०२४ जुलाईमा पेन्सिलभेनियामा आयोजित चुनावी सभामा ट्रम्पलाई लक्ष्य उनीमाथि गोली प्रहार भएको थियो। त्यतिबेला उनको कानमा चोट लागेको थियो।

त्यो घटनामा एक सर्वसाधारणको मृत्यु र दुई जना घाइते भएका थिए।