Wednesday, July 15

अमेरिकाले ८० प्रतिशतले घटायो नागरिकता त्याग्न लाग्ने शुल्क

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकाले अमेरिकी नागरिकता त्याग्न चाहने व्यक्तिहरूले तिर्नु पर्ने शुल्क करिब ८० प्रतिशतले घटाएको छ । त्यहाँको विदेश मन्त्रालयले शुक्रबार सङ्घीय रजिष्टरमा प्रकाशित अन्तिम नियममार्फत शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलरमा झारेको घोषणा गरेको हो ।

Advertisement

नयाँ शुल्क तत्कालै लागू भइसकेको छ । यो निर्णय सन २०२३ मै घोषणा गरिएको भए पनि कार्यान्वयनमा आएको थिएन । अब लागू गरिएको शुल्क सन २०१० मा पहिलो पटक नागरिकता त्याग शुल्क तोकिएको स्तरकै बराबर हो ।

Advertisement
Advertisement

अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया लामो, जटिल र संवेदनशील मानिन्छ । आवेदकहरूले विदेश मन्त्रालयका कन्सुलर अधिकृतसमक्ष बारम्बार लिखित र मौखिक रूपमा आफूले निर्णयको प्रभाव बुझेको पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र औपचारिक रूपमा नागरिकता त्याग शपथ लिन अनुमति दिइन्छ, जसलाई विभागले अन्तिम रूपमा स्वीकृत गर्छ

Advertisement

सन् २०१५ मा प्रशासनिक खर्च बढेको भन्दै शुल्क ४५० डलरबाट बढाएर २ हजार ३५० डलर पुर्‍याइएको थियो । त्यो समयमा अमेरिकी नागरिकता त्याग गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको थियो । विशेषगरी विदेशमा बसोबास गर्ने अमेरिकीहरूका लागि लागू गरिएको नयाँ कर रिपोर्टिङ नियमहरूले धेरैलाई असन्तुष्ट बनाएको थियो, जसका कारण नागरिकता त्याग्ने प्रवृत्ति बढेको थियो

उच्च शुल्कको विभिन्न अधिकार समूहहरूले विरोध जनाउँदै आएका थिए । विशेषगरी फ्रान्समा आधारित एशोसियशन अफ एक्सिडेन्टल अमेरिकन्सले शुल्क असंवैधानिक भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो । यस संस्थाले अमेरिकामा जन्मिएका तर जीवनको अधिकांश समय विदेशमा बिताएका व्यक्तिहरूको प्रतिनिधित्व गर्छ, जसले अनिच्छित रूपमा अमेरिकी नागरिकता पाएको दाबी गर्छ । संस्थाले दायर गरेको एक मुद्दा अझै विचाराधीन छ, जसमा नागरिकता त्याग गर्न कुनै शुल्क नै लाग्नु हुँदैन भन्ने माग गरिएको छ ।

विश्लेषकहरूका अनुसार शुल्क घटाउने निर्णयले अमेरिकी नागरिकता त्याग गर्न चाहनेहरूका लागि प्रक्रिया केही सहज बनाउनेछ । विशेषगरी विदेशमा बस्ने अमेरिकीहरूका लागि यो राहतको रूपमा हेरिएको छ । तर नागरिकता त्याग्नु भनेको गम्भीर र स्थायी निर्णय भएकाले यसको प्रभाव दीर्घकालीन हुने बताइन्छ । यसले व्यक्तिको कानुनी हैसियत, कर प्रणाली र अन्तर्राष्ट्रिय आवागमनमा समेत असर पार्न सक्छ ।