Sunday, March 29

यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा

नेपालअखबार, काठमाडौं । अमेरिका र इसराइलविरूद्ध इरानको युद्धमा यमनबाट हुथी पनि होमिएको छ।

इरान समर्थित लडाकू समूह हुथीले शनिबार पहिलोपटक इसराइलमा आक्रमण गरी युद्धमा होमिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ।

Advertisement

अमेरिका-इसराइल र इरानबीचको युद्धको एक महिनामा हुथीले पनि इसराइलमा आक्रमण गरेको हो।

यसले मध्यपूर्वको युद्ध थप विस्तार हुने खतरा पैदा भएको भनेर वासिङ्टन पोस्टले जनाएको छ।

इरानले इसराइललाई घेर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी र प्यालेस्टाइनमा हमास परिचालन गर्छ। अरबी मुलुकमा अरू स-साना समूह परिचालित गर्छ। यसलाई ‘एक्सिस् अफ रेसिस्टेन्ट’ भनिन्छ।

लेबननबाट हिजबुल्लाह अगाडिदेखि नै युद्धमा सामेल भइसकेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि हिजबुल्लाहले लेबननबाट इसराइलमा मिसाइल र ड्रोन हमला गरेको थियो।

युद्धमा लेबननमा पनि ठूलो संख्यामा भौतिक र मानवीय क्षति भएको छ।

हुथीले भने पहिलोपटक इसराइलमा हमला गरेको हो। इसराइली सेनाले यमनबाट आएको एउटा मिसाइल निस्तेज पारिएको बताएको छ। हुथीले पनि इसराइलमा आक्रमण गरेको पुष्टि गरेको भनेर वासिङ्टन पोस्टले लेखेको छ।

उसले इसराइली सैन्य अड्डामा लक्ष्य गरेर ब्यालिस्टिक मिसाइलले प्रहार गरेको भनेको छ। यद्यपि मानवीय क्षति भने नभएको आइडिएफले जनाएको छ।

हुथीलाई अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको छ।

गत मार्चमा अमेरिकाले यमनमा हुथीविरूद्ध सैन्य कारबाही चलाएको थियो। त्यतिबेला हुथीले रेड सीमा पानीजहाज र अमेरिकी सेनालाई लक्ष्य गरी आक्रमण गरेपछि अमेरिकाले हप्तौं लामो सैन्य कारबाही चलाएको थियो।

पछि ओमानको मध्यस्थतमा युद्धविराम भएको थियो। ट्रम्पले त्यतिबेला हुथीले आत्मसमर्पण गरेको र उसलाई अत्यन्त कमजोर पारिएको बताएका थिए।