Monday, May 11

क्रियाशील १७ जनालाई कोरोना डिफेन्स अवार्ड

नेपाल अखबार, काठमाडाैं। गन्तब्य नेपालले कोभिड–१९ (कारोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ ।
उक्त संस्थाले आज काठमाडौँमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो । अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरियो । यो संस्थाले बन्दाबन्दीका बेला विभिन्न अस्पताल, सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
त्यस्तै बन्दाबन्दीमा गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणलगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरिएको थियो ।
अन्य १४ सामाजिक व्यक्तिलाई ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मान गरियो । सम्मानित हुनेमा कामपा–३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरु तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरीकितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ता क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकार रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन् ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अवार्ड वितरण गर्दै कोरोना महामारीकाबीच निजी वा संस्थागत तहबाटै निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले अहिले सिङ्गो देश रोग र भोक दुवैसँग उत्तिकै लड्नुपर्ने अवस्था आइपरेको भन्दै रोगसँग डराएर घर बस्दा भोकले मरिने र भोकलाई जित्न बाहिर निस्किँदा रोगले मरिने खतरा रहेको यो संवेदनशील घडीमा निकै संयमित र होसियार भएर सावधानीका उपाय अपनाउँदै पेशा–व्यवसायमा फर्किन व्यवसायीलाई सुझाव दिए ।
कार्यक्रममा सांसद बहादुरसिंह लामाले महामारीसँग जुध्ने अभियानमा उल्लेख्य योगदान गरी अवार्ड प्राप्त गरेका अभियन्तालाई बधाई दिँदै यसले आगामी दिनमा हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले कोरोना महामारीको असहज परिस्थितिमा संस्थाले विभिन्न निकायसँगको समन्वयमा अत्यावश्यक सेवामा खटिनेलाई स्वास्थ्य सामग्रीलगायतका सहयोग गरिएको बताए । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *