
नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता नेपालले निर्वाचनको परिणाम अपेक्षा विपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । नेता नेपालले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न समेत आग्रह गरे ।
पार्टीभित्र हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको जानकारी दिँदै उनले राष्ट्रिय समस्या, राजनीतिक सङ्कट र कम्युनिस्ट आन्दोलनका चुनौतीबारे मन्थन भइरहेको बताए । नेपालको राजनीतिमा कम्युनिस्टहरूले २००७ सालदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले कम्युनिस्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे । समाजमा व्याप्त महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीका विरुद्ध जुध्न उनले महिला सङ्गठनलाई निर्देशन दिए ।
महिलाहरूले आफ्नो जिल्ला र राष्ट्रिय समस्या दुवैमा ध्यान दिनुपर्ने उनको भनाइ छ । नेता नेपालले एकताले मात्रै सबै थोक नहुने भन्दै शक्ति बढाउन र जनताको मन जित्न आफ्नै खुट्टामा उभिने आँट गर्नुपर्ने बताए।

