Saturday, April 11

सामान्य सुविधाकाे लागि राजधानी धाउनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ: माननीय आरेन राई

नेपालअखबार,काठमाडौं । खोटाङ सेवा समाजद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा माननीय: आरेन राईले जिल्लाबाट सामान्य सेवा सुविधाकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका छन्। उनले खोटाङमै शिक्षा, स्वास्थ्य, रोजगारी तथा प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि दीर्घकालीन विकासका लागि स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्ने बताए। उनीहरूले जिल्लाको पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्न राज्यसँगै निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

Advertisement

भक्तपुरको सल्लाघारीमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमाननीयहरू विशाल भट्टराई, सरस्वती बजिमय लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा गीत–संगीतका कलाकारहरू, खोटाङबाट राजधानी आएर बसेका पेशाकर्मी, व्यवसायी, विद्यार्थी, पत्रकार तथा विभिन्न राजनीतिक दलमा आबद्ध खोटाङेहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। आयोजकका अनुसार कार्यक्रममा एक हजारभन्दा बढीको उपस्थिति रहेको थियो।

सुप्रशिद्द गायक गायीकाहरुबाट साङ्गीतिक प्रस्तुति सहितकाे कार्यक्रमले खोटाङको समग्र विकासका लागि साझा धारणा निर्माण गर्दै जिल्लामा सेवा सुविधा विस्तार गर्ने दिशामा सहकार्यको सन्देश दिएको छ। सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ठोस कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।