Thursday, July 23

उपत्यकामा त्रास बढाउने घटना: चन्द्रागिरीको जंगलमा अज्ञात पुरुषको कंकाल फेला

नेपालअखबार,काठमाडौं । उपत्यकामा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको सन्दर्भमा चन्द्रागिरी नगरपालिकाबाट एक सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। चन्द्रागिरी–२ बाणभन्ज्याङस्थित जंगल क्षेत्रमा अज्ञात पुरुषको कंकाल फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

Advertisement
वडा कार्यालय पछाडिबाट मसिने जाने बाटो नजिक, देउराली चण्डिका देवी मन्दिरमुनिको जंगल क्षेत्रमा उक्त कंकाल देखिएको स्थानीयले बताएका छन्। कंकाल देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट प्रहरी निरीक्षक अजय जंग थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कंकाललाई नियन्त्रणमा लिई आवश्यक मुचुल्का प्रक्रिया पूरा गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement
Advertisement

हालसम्म कंकालको पहिचान खुल्न सकेको छैन भने मृत्युको कारण पनि रहस्यमै छ। घटनाले आपराधिक गतिविधि बढ्दो रहेको संकेत दिएको भन्दै स्थानीयवासीले सुरक्षामा थप चासो दिन आग्रह गरेका छन्।

Advertisement

प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम तथा अन्य प्राविधिक परीक्षणपछि मात्र घटनाबारे स्पष्ट तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।