Friday, July 24

इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु

नेपालअखबार,काठमाडौं । युद्धविरामबीच इसराइलले लेबननमा हमला गरेको छ।

Advertisement

इसराइल र लेबननको सीमाना अल तायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी पत्रकार ४३ वर्षीया अमल खलिल मारिएकी हुन्। उनीसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएकी छन्।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनाक्रम कभर गरिरहेको बेला उनीहरू सवार गाडीको अगाडि रहेको अर्को सवारी साधनमा हमला भएको थियो।

Advertisement

त्यसपछि उनीहरूको गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए। तर अर्को हमला सोही घरमै भएपछि खलिल मारिएकी हुन्।

घटनापछि उद्धार टोली पुग्ने प्रयास समेत भएको थियो। तर आक्रमण जारी राखेर अवरोध गरिएको आरोप पनि लगाइएको छ।

लेबननका पत्रकार संघकी प्रमुख एल्सी मौफार्रेज र सैन्य अधिकारीका अनुसार उद्धारकर्मीलाई रोक्न ध्वनि ग्रेनेड प्रहार गरिएको थियो। जसका कारण तत्काल उद्धार सम्भव हुन सकेन। करिब सात घन्टापछि मात्रै खलिलको शव भग्नावशेषबाट निकालिएको बताइएको छ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको टिप्पणी गरेका छन्। उनले यस्ता घटनाबारे अन्तर्राष्ट्रिय निकायमा पहल गर्ने बताएका छन्।

तर इजरायली सेनाले भने उद्धार टोलीलाई अवरोध गरेको आरोप अस्वीकार गरेको छ। उसले दुई वटा सवारी साधन हिजबुल्लाहसँग सम्बन्धित सैन्य संरचनाबाट निस्केर सुरक्षा जोखिम हुने तरिकाले आफ्ना सैनिकतर्फ अघि बढेको दाबी गरेका छन्।

तीमध्ये एउटा गाडी र नजिकैको भवनमा आक्रमण गरिएको जनाएको छ। साथै, आफूहरूले पत्रकारलाई लक्षित नगरेको पनि दाबी गरेको छ।

बुधबारको आक्रमणमा कुल पाँच जनाको मृत्यु भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मार्चदेखि सुरु भएको द्वन्द्वमा हालसम्म लेबनानमा २,४०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

इसराइलले आफ्नो उत्तरी क्षेत्रलाई हिजबुल्लाहका आक्रमणबाट जोगाउन भन्दै सीमावर्ती क्षेत्रमा ‘बफर जोन’ कायम गरिरहेको छ। तर यस्तो आक्रमणले युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठाएको छ र क्षेत्रीय तनाव झन् बढ्ने संकेत देखिएको छ। दुई देशबीच मार्च १६ मा दस दिनका लागि युद्धविराम भएको थियो।