
नेपालअखबार, काठमाडौं । कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेसले संसदीय दल नेता चयन गरेको छैन।
यसअघि गत शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिले सहमतिमै संसदीय दल नेता चयन गर्न एक कार्यदल बनाएको थियो।
सो कार्यदलको सुझावका आधारमा सोमबार केन्द्रीय कार्यसम्पादन समितिमा सभापति गगन थापाले संसदीय दल नेताको नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे निर्वाचन समितिबाट घोषणा गर्ने कार्यक्रम तय रहेको नेताहरूले जनाएका छन्।
संसदीय दल नेताका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा, निश्कल राईलगायत आकांक्षी छन्। मुख्य गरी केसी, आङ्देम्बे र आचार्यबीच संसदीय दल नेतामा ‘लडाइँ’ छ।
सभापति गगन थापाले सहमतिमै संसदीय दल नेता चयन गर्न सके राम्रो हुने बताएको नेताहरूको भनाइ छ।
साथै उपसभापति विश्वप्रकाश शर्माले सांसद आङ्देम्बेलाई अघि बढाउँदा उपयुक्त हुने र पार्टीभित्र पनि राम्रो सन्देश जाने बताएको नेताहरू बताउँछन्। आङ्देम्बे १४ औं महाधिवेशनमा देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
आङ्देम्बेले अहिले आफूहरू गगन थापा नेतृत्वमा रहेको र कुनै पनि पक्षमा आफू नरहेको बताएका थिए।

