
नेपालअखबार,काठमाडौं । अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।
युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर पुगेको भनेर पेन्टागनलाई उद्धृत गरेर लेखेको छ।
अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारी जे हर्स्टले प्रतिनिधिसभाअन्तर्गत सशस्त्र सेवा समितिमा बोल्दै अधिकांश खर्च बम, मिसाइललगायत सैन्य सामग्रीमा गएको जानकारी दिएका छन्।
तर उक्त अनुमानमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाको पुनर्निर्माण वा मर्मत खर्च समावेश गरिएको छ कि छैन भन्ने स्पष्ट गरिएको छैन।
समितिका शीर्ष डेमोक्र्याट सदस्य एडम स्मिथले लामो समयदेखिको माग पूरा भएको बताए।
‘हामीले अगाडिदेखि नै सोधिरहेका थियौं। तर कसैले पनि ठोस संख्या दिएको थिएन,’ उनले भने।
यो २५ अर्ब डलर रकम चालु वर्षको अमेरिकी अन्तरिक्ष संस्था नासाको कुल बजेट बराबर भएको बताइएको छ।
यद्यपि युद्ध सुरु भएको पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च भएको अनुमान सार्वजनिक भएको सन्दर्भमा यो कुल लागत कसरी गणना गरियो भन्ने अझै अस्पष्ट छ।
रक्षा मन्त्री पिट हेगसेथले भने उक्त खर्चलाई उचित ठहर गर्दै इरानलाई आणविक हतियार हासिल गर्न नदिनु नै मुख्य लक्ष्य रहेको बताएका छन्।
‘इरानले आणविक बम नपाओस् भनेर तपाईं कति मूल्य तिर्न तयार हुनुहुन्छ?,’ उनले सांसदहरूला प्रश्न गरे।
तर युद्धबारे संसदभित्र तीव्र विवाद देखिएको छ।
सुनुवाइका क्रममा हेगसेथले डेमोक्र्याट सांसदहरूलाई ‘अविवेकी, कमजोर र पराजयवादी’ भन्दै कडा आलोचना गरेका थिए। यसले बैठक तनावपूर्ण बनेको थियो र समिति अध्यक्षले समेत उनलाई संयम अपनाउन चेतावनी दिनुपरेको थियो।
अमेरिकी सेनाले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेको थियो। हाल दुवै पक्षबीच कमजोर युद्धविराम कायम भए पनि क्षेत्रीय तनाव अझै जारी छ। पेन्टागनले मध्यपूर्वमा हजारौँ थप सैनिक परिचालन गरेको छ भने तीनवटा विमानवाहक जहाजसमेत तैनाथ गरिएको छ।
युद्धमा हालसम्म १३ देखि १४ जना अमेरिकी सैनिकको मृत्यु भएको र सयौँ घाइते भएका छन्। संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनका अनुसार दुई महिनाको युद्धपछि “इरान दशकौँयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको” दाबी गरिएको छ।
तर युद्धको अन्त्य कहिले र कसरी हुन्छ भन्नेबारे स्पष्ट योजना सार्वजनिक गरिएको छैन।
डेमोक्र्याट सांसदहरूले युद्धको उद्देश्य र उपलब्धिबारे प्रश्न उठाउँदै आलोचना गरिरहेका छन्।
युद्धले अमेरिकी आन्तरिक राजनीतिमा पनि प्रभाव पारेको छ।
इन्धन र मलजस्ता वस्तुको मूल्य बढेपछि महँगी चुलिएको छ, जसले मतदातामा असन्तुष्टि बढाएको छ। एक सर्वेक्षणअनुसार इरान युद्धप्रति अमेरिकी जनसमर्थन घट्दै ३४ प्रतिशतमा झरेको छ।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा पनि गिरावट आएको छ।
आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा युद्धको लागत र प्रभाव अमेरिकी राजनीतिमा मुख्य मुद्दा बन्ने देखिएको छ।

