
काठमाडौँ । बिहीबार परेको वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको अझै खुल्न सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित ‘इको’ भन्ने स्थानमा सडक भासिएपछि अरनिको राजमार्ग पुनः अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सडकको माथिल्लो भागबाट खनेर मात्र नहुने र तलबाटै पुरेर ल्याउनुपर्ने भएकाले मर्मत कार्य चुनौतीपूर्ण देखिएको छ । तर, प्राविधिक कठिनाइभन्दा पनि ठुलो समस्या ‘नीतिगत अन्योल’ देखिएको छ ।
प्रमुख भण्डारीका अनुसार यसअघि नेपाल सरकारको सडक डिभिजनले ठेक्का लगाएर काम सुरु गरेको भए पनि पछि सो सडक खण्ड चिनियाँ पक्षले बनाउने निर्णय भएको थियो । सो निर्णयपछि नेपाल सरकारका ठेकेदार फर्किसकेका छन् भने चिनियाँ प्राविधिक टोली अझै आइपुगेको छैन । यसले गर्दा सडक मर्मत कसले र कसरी गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ ।
‘हामीले काम सुरु गरेका थियौँ, तर चीनलाई दिने भएपछि हाम्रा ठेकेदार फर्किए । अहिले चिनियाँहरू आएका छैनन् र हामीलाई काम गर्न पनि मिलेको छैन,’ भण्डारीले भने ।
यस्तै राजमार्ग अवरुद्ध भएपछि स्थानीय जनप्रतिनिधिले मन्त्रीलाई चिठ्ठी लेखेर अस्थायी रूपमा भए पनि बाटो खुलाउने आदेश दिन आग्रह गरेका छन् । सडक डिभिजनले मन्त्रालयबाट स्पष्ट निर्देशन वा निर्णय आएमा मात्र अस्थायी मर्मतको काम अघि बढाउन सक्ने बताएको छ ।
साथै हिजो साँझदेखि नै राजमार्ग बन्द भए पनि सडक डिभिजनसँग हाल उपलब्ध साना मेसिनहरूले सडक खुलाउन सम्भव नभएको बताए । सडक भासिएको र ठुलो क्षति पुगेकाले मर्मतका लागि ठुला उपकरण आवश्यक पर्ने र ती उपकरणहरू कार्यस्थलमा पु-याउन समय लाग्ने देखिएको छ । भण्डारीले भने,‘हाम्रो अफिससँग भएका साना मेसिनले यो भासिएको सडक बनाउन सकिँदैन, ठुलो मेसिन लैजान नीतिगत निर्णय वा माथिको आदेश चाहिन्छ ।’
राजमार्ग कहिले खुल्छ भन्ने निश्चित नभए पनि माथिल्लो निकायबाट निर्णय हुनासाथ काम अघि बढाइने जानकारी प्रमुख भण्डारीले दिएका छन् । राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाबा आपूर्ति ठप्प भएको छ । मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
वर्षा सुरु भएर सडक अवरुद्ध भएपछि मात्र यो पहिरो राष्ट्रिय चर्चाको विषय बन्ने तर हिउँद लागेपछि मर्मतको काम ओझेलमा पर्ने गरेको छ । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको यो क्षेत्र प्रत्येक वर्षको वर्षातमा राष्ट्रिय मुद्दा बन्ने गरे पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन । सडक डिभिजन कार्यालयका अनुसार, इको पहिरो नियन्त्रणका लागि सरकारले यसअघि ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटमार्फत ठेक्का लगाएर पहिरो नियन्त्रणका लागि धमाधम काम पनि भइरहेको थियो । भोटेकोशी नदीबाट पक्की पिल्लर र वाल उठाएर सडकसम्म ल्याउने काम जारी थियो ।
तर, अहिले सो काम बीचमै रोकिएको छ । ‘हामीले वर्षाअघि नै पहिरो नियन्त्रण गर्ने गरी काम गरिरहेका थियौँ,’ प्रमुख भण्डारीले भने, ‘तर, परराष्ट्र मन्त्रालयबाट यो पहिरो नियन्त्रणको काम चिनियाँ अनुदानमा हुने भन्ने पत्र प्राप्त भएपछि हामीले नेपाली ठेकेदारको काम रोक्नुप-यो ।’ सीमा क्षेत्र भएकाले परराष्ट्रले पटक–पटक चीन सरकारलाई आग्रह गरेपछि चीनले यस पहिरो रोकथामका लागि सकारात्मक जवाफ पठाएको हो । चिनियाँ प्राविधिक टोलीले हालै ड्रोनमार्फत यस क्षेत्रको स्थलगत अवलोकन र अध्ययन समेत गरिसकेको छ ।
चीनले स्थायी रूपमा बनाइदिने भएपछि नेपाली ठेकेदार फर्किएका छन्, तर चिनियाँ पक्षले काम सुरु गरिसकेको छैन । यही अन्योलका बीच बुधबारको वर्षाले सडक भासिएपछि तत्काल सडक खुलाउन समस्या भएको छ । चिनियाँ पक्षलाई जिम्मा दिइसकेको अवस्थामा डिभिजनले थप लगानी गर्न प्राविधिक र कानुनी कठिनाइ देखिएको छ ।
१७५ घरधुरी र दर्जनौँ बस्ती जोखिममा
इको पहिरो केवल सडक अवरोधको विषय मात्र होइन, यो मानवीय संकटको विषय पनि हो । यो पहिरोको ठिक माथि १७५ घरपरिवारको बसोबास छ भने पहिरोमुनि भोटेकोशी नदीले निरन्तर कटान गरिरहेको छ । १० वर्षदेखि कोदारी, गुम्बाडाँडा र दसकिलो लगायतका दर्जनौँ बस्तीहरू यो पहिरोकै कारण उच्च जोखिममा छन् ।
गत वर्षको वर्षामा यो सडक झन्डै तीन महिना बन्द भएको थियो । स्थानीयले सडक सुचारु गर्न र आफ्नो बस्ती जोगाउन माग गर्दै पहिरोमै बसेर विरोध समेत गरेका थिए । चाडपर्वको मुखमा आयातित सामान बाटोमै रोकिँएपछि अस्थायी रुपमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
२०८२ साउनयता पटक–पटकको पहिरोले सास्ती खेपेका स्थानीयले दीर्घकालीन मर्मत र बस्ती सुरक्षाको माग गर्दै गत मंसिरमा अरनिको राजमार्ग ठप्प पारेका थिए ।
अर्बौँ राजस्व उठ्ने नाकाको सडकमा सरकारले बेवास्ता गरेको भन्दै विरोध चर्किएपछि तत्कालिन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको निर्देशनमा तत्काल मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । तर चीनले मर्मत गर्ने भएपछि बिचमै काम रोकिएको थियो ।

