
अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि इरानले युएई लगायत छिमेकी राष्ट्रहरूमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणबाट बचाउन इसराइलले लेजर सहितका अत्याधुनिक हतियार प्रणालीहरू पठाएको फाइनान्सियल टाइम्सले लेखेको छ।
सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गरिएको ‘अब्राहम एकोर्ड्स’ अघि यी दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध समेत थिएन।
अहिले भने इरानको हमलाबाट जोगाउन इसराइलले अत्याधुनिक हतियार प्रणालीहरू पठाएको हो।
फाइनान्सियल टाइम्सका अनुसार इसराइलले ‘स्पेक्ट्रो’ नामक एउटा निगरानी प्रणाली तुरुन्तै पठाएको थियो। यसले युएईलाई २० किलोमिटर टाढाबाटै आउँदै गरेका इरानी साहिद ड्रोनहरू पत्ता लगाउन मद्दत गर्यो।
यसका साथै, इसराइलले आफ्नो ‘आइरन बीम’ लेजर रक्षा प्रणालीको एक संस्करण पनि पठाएको थियो। छोटो दुरीका रकेट र ड्रोनहरूलाई जलाएर नष्ट गर्ने यो लेजर प्रणालीलाई इसराइलले यसै वर्षको सुरुमा हिजबुल्लाह समुहको लेबननबाट हुने आक्रमणहरू विरुद्ध पहिलो पटक प्रयोग गरेको थियो।
यी दुवै रक्षात्मक हतियार प्रणाली हुन्। यसअघि नै युएई पठाइएको ‘आइरन डोम’ हवाई रक्षा प्रणालीसँगै यी हतियारहरू पनि थपिएका हुन्। यस प्रणालीलाई सञ्चालन गर्न इजरायली सेनाका “कैयौं दर्जन” कर्मचारीहरू पनि त्यहाँ पुगेका छन्।
इरानी ड्रोन आक्रमणबाट जोगाउन युएई लगायत खाडी राष्ट्रहरूलाई युक्रेनले पनि सहयोग गरेको थियो।
युक्रेनसँगको युद्धमा रूसलाई सहयोग गर्न इरानले शाहिद ड्रोन दिएको थियो। पछि रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ।
रूसको ड्रोन आक्रमण रोक्न युक्रेनले आफै रक्षात्मक ‘इन्टरसेप्टर’ ड्रोन बनाएको छ। ती ‘इन्टरसेप्टर’ ड्रोनले रूसी ड्रोनमा ठक्कर दिएर तिनलाई नष्ट पार्छन्।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि गरेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले ‘इन्टरसेप्टर’ ड्रोन सहित सैयौं सैन्य विज्ञ खटाएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

