
नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो? दार्चुलाको दुम्लिङसम्म बाटो पुर्याउन नसक्ने नालायक बनेर… पारिपट्टि सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन?,’ उनले प्रश्न गरेका छन्।
अहिले उक्त बाटो सम्पन्न गरेर नाका सञ्चालनको चरणमा पुगिसक्दा पनि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रश्न उठाएका हुन्।
यो बेला एउटा कूटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै नहुने उनको भनाइ छ।
‘सो विषयलाई सम्वाद ल्याउन वार्ता टोली बनाएर वार्ता सुरू गर्नु पर्दैन? चीन, भारत, नेपाल र युएनलाई राखेर चारै पक्षबीच वार्ता गरेर सीमा जोगाउनतिर लाग्नु,’ उनले भनेका छन्, ‘सेनालाई सिमानामा खटाउनू, मन्त्रीको गाडीको ढोका खोल्ने काममा होइन। व्यक्तिगत पाले बनाएर राख्ने होइन। सीमा रक्षकको रूपमा सेनालाई खटाउनु पर्दैन?’
उनले सुकुम्बासी बस्ती भत्काउँदा सेना लगिएको भन्दै आपत्ति जनाएका छन्।
‘सेना सुकुम्बासी बस्ती भत्काउन जाँदा लाने होइन त्यता। सिमानामा पठाउनु! सिमानामा सेना नभएकै कारण सिमाना मिचिएको छ,’ उनले भनेका छन्।
सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका देशका विभिन्न स्थानहरूमा बाढीले भत्काएको बाटो खोल्न र तत्काल विपद व्यवस्थापन गर्न पठाउनु पर्ने बताएका छन्।
विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्तै रोक्न पनि भनेका छन्।
‘देशको अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य सञ्चालन गर्न सक्छ? राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने, नजान्ने हो भने राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्दैन? गरिबको बास भत्काएर विजोग, बेहाल स्थितिमा राख्नु हुँदैन,’ उनको भनाइ छ।
सबैको चित्त बुझाएर समाधानको बाटोमा लानुपर्छ कि पर्दैन भनेर पनि प्रश्न गरेका छन्।
बजेट बनाउने क्रममा सबै पार्टीका सांसदहरूको क्षेत्रगत जनताका समस्या र सेवा सुविधालाई सम्बोधन गर्नुपर्ने उनको माग छ।
‘कि राज्यको ढुकुटी तपाईंको मात्रै हो? लुकेर भागेर समस्या समाधान हुन्छ? पत्रकारहरूको उत्तर दिने गर्नुपर्दैन? जनतालाई सरकारले के गर्दैछ भन्ने जानकारी हुनु पर्छ कि पर्दैन? यी सबै प्रश्नका उत्तर जनतालाई दिनु होला पत्रकार सम्मेलन गरेर अन्यथा प्रत्येक दिन म यसरी नै ठुँगिरहने छु! अहिले लाई यति! अरू बातमा..क्रमश…!,’ उनको भनाइ छ।

