
नेपालअखबार, बैतडी । बैतडीमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापक (प्रअ) लाई दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रअ दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका डीआईजी ओमबहादुर रानाले जानकारी दिए ।
उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
डीआईजी रानाले उनीहरूलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।
पिपलकोट माध्यमिक विद्यालयमा शिक्षकका लागि तारा महताले परीक्षा दिएकी थिइन् । तर, पहिलो परीक्षामै उनी फेल भएकी थिइन् ।
परीक्षामा अनुत्तीर्ण भएपछि आक्रोशित बनेका महताको परिवारले प्रधानाध्यापक ओझामाथि कालोमोसो दल्दै जुत्ताको माला लगाएर सार्वजनिक रूपमा बेइज्जत गरेको पीडित पक्षको आरोप छ ।
उनीहरूले ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेट समेत हालेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे प्रहरीले चासो देखाएको थियो ।

