Friday, July 24

हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज

नेपालअखबार,काठमाडौँ । अमेरिकाको आइडाहो राज्यमा आयोजित एक एयर शोका क्रममा अमेरिकी नौसेनाका दुई सैन्य विमान आकाशमै ठोक्किएको छ।

Advertisement

आइतबार पश्चिमी आइडाहोस्थित माउन्टेन होम एयर फोर्स बेसमा नौसेनाको इलेक्ट्रोनिक अट्याक स्क्वाड्रन–१२९ का दुई वटा ईए–१८जी ग्राउलर विमान हवाई प्रदर्शन गरिरहेका बेला एकआपसमा ठोक्किएका हुन्।

Advertisement
Advertisement

विमानमा सवार सबै चार चालकदलका सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ।

Advertisement

अमेरिकी प्रशान्त बेडाअन्तर्गत नौसैनिक हवाई फौजकी प्रवक्ता कमान्डर अमेलिया उमायामले दुर्घटनापछि सबै चालकदल सदस्यले प्यारासुटमार्फत सुरक्षित रूपमा विमानबाट बाहिर निस्किएको जानकारी दिइन्।

उनीहरूको अवस्था स्थिर रहेको र अन्य कोही घाइते नभएको जनाइएको छ।

दुर्घटनापछि एयर फोर्स बेस तत्काल बन्द गरिएको थियो भने बाँकी एयर शो रद्द गरिएको आयोजकहरूले बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चारवटा प्यारासुट खुल्दै गरेको देखिन्छ भने दुवै विमान आधार क्षेत्र नजिकै भुइँमा खसेर आगोको मुस्लोमा परिणत भएका थिए।

दुर्घटनास्थल राजधानी बोइसीबाट करिब ८० किलोमिटर दक्षिणमा पर्छ।

प्रत्यक्षदर्शी शेन ओग्डेनले विमानहरू एकअर्काको निकै नजिक पुगेपछि ठोक्किएको देखेको बताएका छन्।

उनले खिचेको भिडियोमा विमानहरू ठोक्किएपछि सँगै घुम्दै तल खसेको र चालकदल बाहिर निस्केपछि विमान जमिनमा ठोक्किँदा ठूलो विस्फोट भएको देखिन्छ।

एउटा जहाजको अनुमानित मूल्य ६ करोड ७० लाख डलर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ईए–१८जी ग्राउलर अमेरिकी लडाकु विमान एफ/ए–१८ सुपर हर्नेटको एक संस्करण हो, जसमा उन्नत इलेक्ट्रोनिक युद्ध प्रणाली जडान गरिएको हुन्छ।

विज्ञहरूले चालकदल सबै सुरक्षित रहनुलाई असाधारण घटना भनेका छन्।

उड्डयन सुरक्षा विज्ञ जेफ गुज्जेट्टीका अनुसार सामान्यतया हवाई ठक्करमा चालकदललाई बाहिर निस्कने समय हुँदैन। तर यस घटनामा दुवै विमान केही समय सँगै जोडिएजस्तो अवस्थामा तल खसेकाले चालकदलका सदस्यहरू सुरक्षित बाहिर निस्कने समय पाएको   हुनसक्ने अनुमान गरिएको छ।

उनले प्रारम्भिक रूपमा यो यान्त्रिक खराबीभन्दा पनि पाइलटको समन्वय त्रुटिसँग सम्बन्धित हुन सक्ने बताएका छन्। अर्का उड्डयन विज्ञ जोन कोक्सले एयर शोका उडान अत्यन्त कठिन हुने र सामान्य त्रुटिको पनि ठूलो मूल्य चुकाउनुपर्ने बताए।

घटनाको अनुसन्धान अमेरिकी नौसेनाले सुरु गरेको छ। चालकदल जीवित रहेकाले उनीहरूको बयानले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अपेक्षा गरिएको छ।

यस वर्षको ‘गनफाइटर स्काइज’ एयर शो सन् २०१८ पछि पहिलो पटक आयोजना गरिएको थियो। त्यसबेला पनि एयर शोका क्रममा ह्याङ ग्लाइडर दुर्घटनामा एक पाइलटको मृत्यु भएको थियो।