Wednesday, May 20

वर्षमानको टिप्पणी– प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया हतारोमा भयो

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए ।

Advertisement

विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको दाबी गर्दै उनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता भएको जिकिर गरे ।

सत्तापक्षले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी उनको थियो ।

‘हामीले न्यायालयमा राजनीति गरेका छैनौँ । अहिले सरकारपक्षलाई वरियता मिचेर चौथो वरियतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ । उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ,’ पुनले भने, ‘यसमा मैले थप टिप्पणी गर्न आवश्यक छैन । संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पुरा गर्ने हाम्रो माग थियो । तर सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौं ।’

दुई तिहाइ नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरूले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताए ।