
नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी संसदमा जन्मजात अमेरिकी भएकाले मात्रै सरकारका ठुला पदमा बस्न पाउने प्रस्ताव ल्याइएको छ । प्राकृतिक रूपमा अमेरिकी नागरिकता पाएका व्यक्तिलाई सत्तामा रोक्ने यस कानुनलाई लिएर बहस सुरु भएको छ । रिपब्लिकन सांसद नेन्सी मेसले संवैधानिक संशोधनको प्रस्ताव पेस गरेकी छिन् ।
यसमा प्राकृतिक रूपमा अमेरिकी नागरिक बनेकाहरूलाई अमेरिकी कांग्रेस तथा सङ्घीय सरकारका उच्च पदमा बस्न रोक लगाउन माग गरिएको छ । दक्षिण क्यारोलिनाबाट निर्वाचित सांसद मेसले बुधबार आफ्नो प्रस्ताव सार्वजनिक गर्दै केही डेमोक्रेट सांसदहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेकी थिइन् ।
उनले विशेष रूपमा इल्हान उमर, प्रमिला जयपाल र श्री थानेदारको नाम उल्लेख गर्दै उनीहरू जन्मँदै अमेरिकी नागरिक नभएको र अहिले अमेरिकी कांग्रेसमा बसेर कानुन बनाइरहेको टिप्पणी गरेकी थिइन् । उनीहरूमाथि मेसले अमेरिकाभन्दा अन्य देशप्रति बढी झुकाव देखाएको आरोपसमेत लगाइन् ।
मेसको प्रस्तावअनुसार भविष्यमा प्राकृतिक रूपमा अमेरिकी नागरिक बनेकाहरूले प्रतिनिधिसभा, सिनेट, सङ्घीय न्यायाधीश वा सिनेटबाट अनुमोदित हुने उच्च सरकारी पद सम्हाल्न पाउने छैनन् । उनले राष्ट्रपति र उपराष्ट्रपतिका लागि अहिले लागू रहेको ‘जन्मजात अमेरिकी नागरिक’ सम्बन्धी संवैधानिक मापदण्ड अन्य उच्च सरकारी पदमा पनि लागू गर्नुपर्ने तर्क गरेकी छिन् ।
‘अमेरिकाको कानुन बनाउने, न्यायाधीश अनुमोदन गर्ने र विश्व मञ्चमा अमेरिकाको प्रतिनिधित्व गर्ने व्यक्तिको निष्ठा केवल अमेरिकाप्रति हुनुपर्छ,’ प्रस्ताव सार्वजनिक गर्दै मेसले भनिन् । अमेरिकामा लामो समयदेखि विदेशी जन्मिएका राजनीतिज्ञहरूले अमेरिका फस्टभन्दा अमेरिका लास्टको राजनीति गरिरहेको आरोप पनि उनले लगाइन् ।
यो प्रस्ताव सार्वजनिक भएसँगै डेमोक्रेट सांसदहरू तथा आप्रवासी अधिकार पक्षधरहरूले तीव्र आलोचना गरेका छन् । भारतमा जन्मिएर पछि अमेरिकी नागरिक बनेकी प्रमिला जयपालले मेसको प्रस्तावलाई ‘जातीय र विदेशी विरोधी राजनीति’ को संज्ञा दिएकी छिन् । अमेरिकाको इतिहास नै आप्रवासीहरूको योगदानले बनेको भन्दै यस्तो प्रस्तावले देशको आधारभूत मूल्य र लोकतान्त्रिक भावना कमजोर बनाउने उनले टिप्पणी गरिन् ।
हाल अमेरिकी कांग्रेसमा विदेशमा जन्मिएका २६ सांसद छन् । तीमध्ये अधिकांश डेमोक्र्याट भए पनि केही रिपब्लिकन सांसदहरू पनि प्राकृतिककृत नागरिक हुन् । अमेरिकी सिनेटमा पनि विदेशमा जन्मिएका सांसदहरूको उपस्थिति छ ।
यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार मेसको प्रस्ताव कानुनी रूपमा पारित हुने सम्भावना अत्यन्त कम छ । अमेरिकी संविधान संशोधन गर्न प्रतिनिधिसभा र सिनेट दुवैमा दुई तिहाइ बहुमत आवश्यक पर्छ भने त्यसपछि ५० मध्ये ३८ राज्यले अनुमोदन गर्नुपर्छ । वर्तमान राजनीतिक ध्रुवीकरणलाई हेर्दा यस्तो समर्थन जुटाउन निकै कठिन मानिएको छ ।

