
नेपालअखबार,काठमाडौं । आफूलाई वैकल्पिक राजनीतिक शक्ति र सुशासनको पक्षधर बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पार्टी नीति र निर्देशनको खुलेआम अवज्ञा भएको आरोप उठेको छ। पार्टीले संघीय सांसदहरूलाई संसदीय जिम्मेवारी र नीति निर्माणमा केन्द्रित हुन लिखित निर्देशन जारी गरिरहँदा भक्तपुर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद रुकेश रञ्जित भने जिल्ला सचिव पद नछाड्ने अडानमा देखिएका छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरसहित जारी पत्रमा संघीय सांसदहरूले संसद, संसदीय समिति र जनताका गुनासा सुन्ने जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। पार्टी संगठनको दैनिक सञ्चालन र स्थानीय तहका जिम्मेवारीमा अल्झिनुभन्दा नीति निर्माण तथा जनप्रतिनिधिको भूमिकामा केन्द्रित हुन आग्रह गरिएको छ।
तर, पार्टीको यही स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै सांसद रञ्जितले आगामी असार २३ गते हुने भक्तपुर जिल्ला अधिवेशनमा समेत जिल्ला सचिव पदमा निरन्तरता खोजेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।
रास्वपाले सार्वजनिक रूपमा ‘एक व्यक्ति, एक पद’को नीति अघि सार्दै आएको छ। तर सोही पार्टीका निर्वाचित सांसदले जिल्ला तहको कार्यकारी जिम्मेवारीसमेत सम्हाल्न खोज्नु नीति विपरीत मात्र नभई नैतिक रूपमा पनि प्रश्नयोग्य भएको टिप्पणी पार्टीकै नेताहरूले गर्न थालेका छन्।
जिल्लाका केही नेताहरूका अनुसार सांसदको हैसियतमा संसदमा जनताका मुद्दा उठाउने, सरकारलाई जवाफदेही बनाउने र नीति निर्माणमा योगदान दिने जिम्मेवारी छाडेर संगठनको पदमा टाँसिइरहन खोज्नु पुराना दलका नेताहरूको प्रवृत्तिभन्दा फरक नभएको सन्देश गएको छ।
“जनतालाई नयाँ राजनीतिक संस्कार दिने दाबी गर्ने पार्टीका नेताले नै आफ्नै नियम मान्दैनन् भने अरूलाई नैतिकताको पाठ पढाउने आधार कहाँ रहन्छ ?” भन्ने प्रश्न जिल्ला तहमा उठ्न थालेको छ।
पार्टीले सांसदहरूलाई संगठनात्मक पदभन्दा राष्ट्रिय राजनीतिक जिम्मेवारीमा केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको अवस्थामा रञ्जितको अडानले रास्वपाको आन्तरिक अनुशासन, नीति कार्यान्वयन र नेतृत्वको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।
अब प्रश्न उठेको छ—पार्टीको नीति सबैका लागि बराबर हो कि केही नेताका लागि मात्रै अपवाद? यदि ‘एक व्यक्ति, एक पद’ केवल भाषण र दस्तावेजमा सीमित रहने हो भने रास्वपाले पुराना दलभन्दा आफूलाई फरक सावित गर्ने आधार झन् कमजोर बन्ने देखिएको छ।

