
नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानसँगको शान्ति सम्झौतामा काम गरिरहेका वार्ताकारमाथि इसराइलले जासुसी गरेको शंका गरेको छ।
इसराइलले गोप्य रूपमा अमेरिकी वार्ताकारको कुराकानी सुनेको भन्दै अमेरिकी खुफिया संस्थाहरूले चिन्ता व्यक्त गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त रूपमा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए।
सो युद्धविरामपछि युद्ध अन्त्यका लागि शान्ति सम्झौता गर्न हाल अमेरिका र इरानले वार्ता गरिरहेका छन्। इसराइल संलग्न नरहेको सो वार्तामा इसराइली स्वार्थ विपरीत ट्रम्पले इरानसँग सम्झौता गर्ला भन्ने इसराइललाई चिन्ता छ।
त्यसैले सो वार्तामा छलफल भएका सर्तहरूका बारेमा थाहा पाउने इसराइलले अमेरिकी अधाकरीमाथि जासूसी गरेको मानिन्छ।
इसराइल र अमेरिकाले खुफिया साझेदारी गरे पनि एक-अर्काको अलि-अलि जासुसी गर्छन् भन्ने दुवैतर्फ थाहा छ। तर इरानसँगको वार्तामा अमेरिकी अडानहरूका बारेमा जानकारी लिने इसराइलको तीव्र प्रयासले सीमा पार गरेको केही अमेरिकी अधिकारीको हवाला दिंदै टाइम्सले जनाएको छ।
अमेरिकी खुफिया संस्थाहरूका प्रतिवेदनमा इसराइलले मुख्य अमेरिकी वार्ताकार स्टिभ विटकफ, रक्षा मान्त्रालयका शीर्ष नीति अधिकारी एल्ब्रिज ए. कोल्बी र उनका मुख्य उप-सहायकहरू मध्येका एक माइकल पी. डिमिनो लगायत माथि जासुसी गरेको उल्लेख गरिएको छ।
अरू बेलै पनि खुफिया साझेदारी गर्ने इसराइल र अमेरिकाबीच अहिलेको जस्तो घनिष्ठ सैन्य समन्वय कहिल्यै थिएन। इसराइली सैन्य अधिकारीहरू अमेरिकी सेन्ट्रल कमाण्डमा आफ्ना अमेरिकी समकक्षहरूसँग काँधमा काँध मिलाएर संयुक्त युद्ध लडिरहेका छन्।
अमेरिकी सेनाले आफ्ना इसराइली समकक्षीहरूसँग ठूलो मात्रामा रणनीतिक र परिचालन सम्बन्धी जानकारीहरू साझा गरिरहेको छ।
तर यस्तो समयमा समेत इसराइलले शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीति र अडानबारे भित्री कुराहरू बुझ्न अमेरिकी अधिकारीको जासुसी गरेको आशंका उत्पन्न भएको हो।

