Wednesday, June 10

तीन कक्षासम्म पढाइ हुने विद्यालयमा ३ विद्यार्थी, तीनै जना शिक्षक

नेपालअखबार,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको संख्या बराबर रहेको छ।

कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ। विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन्।

Advertisement

यहाँ शिक्षक—कर्मचारीको संख्या पनि तीन नै रहेको छ।

स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी छन्।

यहाँ रहेका विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना हुनुभएको हो भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण भएर कक्षा ३ मा भर्ना भएका छन्।

प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताइन्।

‘विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ,’ उनले भने, ‘विसं २०७२ सम्म १५–२० जनासम्म विद्यार्थी थिए। नयाँ बच्चा जन्मने दर घटेको र बसाइँसराइ गरेर अन्यत्र जाने दर बढेकाले यस्तो समस्या भएको हो।’

यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालय भवन कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो।

सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भए पनि विद्यार्थी संख्या न्यून हुँदा विद्यालय सुनसान छ। विद्यार्थी संख्या कम भएकाले गत वर्ष गाउँपालिकाले एक जना शिक्षकको दरबन्दी कटौती गरेको थियो।

स्थानीयवासी तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदै गएकाले विद्यार्थी संख्या पनि कम हुँदै गएको बताए।

‘भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ,’ उनले भने, ‘गाउँमा भएका विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन संख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ।’

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत रहेका ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्यून छ।

भौगोलिक विकटता र छरिएका बस्तीहरूमा भएका विद्यालयमा विद्यार्थी संख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।