Sunday, July 5

इरानसँग आइतबार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्।

Advertisement

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले अमेरिकी समयअनुसार आज हस्ताक्षर हुने दाबी गरेका हुन्।

Advertisement
Advertisement

‘सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनेबित्तिकै हर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ,’ ट्रम्पले शनिबार राति ट्रुथ सोसलमा लेखेका छन्।

Advertisement

उनले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल  गर्न नपाउने दाबी गरे।

उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनको तुलनामा राम्रो भएको दाबी समेत गरे।

‘ओबामाले जस्तो सयौं अर्ब डलर नगद इरानलाई दिइने छैन। कुनै रकम आदानप्रदान हुने छैन,’ उनले भनेका छन्।

इरानको बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी-२ बमबर्षक विमानबाट ध्वस्त पारिने पनि बताएका छन्। इरानसँग भएको ४०० किलो उच्च प्रशोधित युरेनियम पनि नष्ट गरिने उनले बताएका छन्। ट्रम्पले इरानको उच्च प्रशोधित  युरेनियमलाई आणविक धुलो भन्छन्।

‘सबै कुरा शान्त भएपछि पहाडका सैयौं फिट तल गाडिएको आणविक धुलोलाई निकाल्नेछौं। त्यसलाई इरान वा अमेरिकामा नष्ट गर्नेछौं,’ उनले लेखेका छन्।

इरान र मध्यपूर्वसँग काम गर्न अमेरिका आतुर रहेको उनले बताएका छन्। त्यसकारण सम्झौता चाँडै गर्ने पक्षमा रहेको ट्रम्पले बताएका छन्।

‘सम्झौता भएन भने हामीसँग अन्तिम विकल्प त छँदैछ। आशा छ त्यो अब कहिल्यै प्रयोग गरिने छैन,’ उनले भनेका छन्।

अमेरिका-इरान युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको पाकिस्तानले पनि चौबीस घन्टाभित्र सम्झौता हुने दाबी गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले शनिबार एक्समा पोस्ट लेख्दै चौबीस घन्टाभित्र सम्झौता हुने र विद्युतीय माध्यमबाट हस्ताक्षर हुने बताएका थिए।

यद्यपि इरानले भने यसमा अझै स्पष्ट जबाफ दिएको छैन।

‘ठ्याक्कै मिति अझै पर्खनुपर्छ। भोलि नै हुने अवस्था नहुन पनि सक्छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले शनिबार रोयटर्ससँग भनेका छन्।

उनले त्यसको सम्भावनालाई पनि अस्वीकार गर्न नसकिने बताए।

रोयटर्सका अनुसार प्रस्तावित समझदारीपत्रमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने प्रस्ताव छ। त्यसमा दुवै पक्ष सहमत छन्। युद्धपश्चात इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि अमेरिकाले पनि हर्मुज वरपर आफ्नो नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो।

आणविक कार्यक्रमबारे भने छुट्टै वार्ता गर्ने पनि सम्झौताको प्रस्तावमा उल्लेख रहेको रोयटर्सले जनाएको छ। अमेरिकाले इरानले कहिल्यै पनि परमाणु हतियार बनाउन नपाउने सर्त राखेको छ। इरान त्यसमा सहमत छैन।

त्यस्तै इरानसँग भएको झन्डै  ४०० किलो उच्च समृद्ध युरेनियमबारे पनि दुई देशबीच मतभेद छ। अमेरिकाले उक्त युरेनियम आफूलाई हस्तान्तरण गर्नुपर्ने सर्त राखेको छ भने इरान त्यसमा पनि सहमत छैन।

यी सबै विषयमा छुट्टै छलफल गर्ने प्रस्तावमा उल्लेख छ।

सम्झौताअनुसार अमेरिकाले इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति क्रमशः फुकुवा गर्ने र तेल निर्यातमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव गरेको बताइएको छ। बदलामा इरानले हर्मुज जलमार्गमा जहाज आवागमनका लागि खुला गर्नेछ।

स्रोतहरूका अनुसार प्रस्तावमा तेहरानका लागि सम्भावित युद्ध क्षतिपूर्ति र इरानको क्षेप्यास्त्र कार्यक्रममाथि अमेरिकाले वर्षौंदेखि राख्दै आएको प्रतिबन्धात्मक माग हटाउने विषय पनि समेटिएको छ।