
नेपालअखबार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ ।
सोेमबार न्याम्सका सहायक डिन प्राडा विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दै आवासीय चिकित्सकको २४ घन्टा ड्युटीपछि बिहानको राउण्ड गरेर छुट्टी दिन निर्देशन दिएका छन् ।
यसअघि न्याम्सका आवासीय चिकित्सकले लगातार ३६ घन्टासम्म ड्युटी गर्नुपर्ने हुन्थ्यो। धेरै कार्यबोझको दबाबले शारीरिक सँगै मानसिक तनाबमा हुर्थे ।
न्याम्सको पछिल्लो निर्णयले रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुनेछ । ‘यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरुको २४ घण्टा ड्युटीपश्चात विहानको राउण्ड सकिएपछि छुट्टी गरिदिन हुन यो परिपत्र गरिएको व्यहोरा जानकारी लागि अनुरोध गर्दछु,’ डा. अधिकारीले एमडी/एमएस/एमडिएस र डिएम/एमसीएच कार्यक्रमका संयोजकहरुलाई जारी गरेको परिपत्रमा छ ।
यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकमाथि तीव्र कार्यबोझ रहेको भन्दै अनिवार्य आराम दिन प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालयहरुलाई निर्देशन दिएको थियो ।


