
नेपालअखबार, काठमाडौं । काठमाडौं आएका तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं आइपुगेका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिन सहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा सेनेगलका अमाडोउ सार, भारतीय नागरिक रूबी र सोनी छन्।
ब्युरोले विदेशी नागरिकलाई शंका लागेमा प्रोफाइलिङ गर्ने गरेको छ। जेठ २६ गते कतार एयरवेजबाट इथोपियाबाट दोहा हुँदै काठमाडौं आइपुगेका सारलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।
उनले मुखबाट निलेर १६ वटा कोकिनको क्याप्सुल ल्याएका थिए।
अनुसन्धानको क्रममा उनीबाट थप ६० वटा क्याप्सुल फेला परेको हो। स्वास्थ्यकर्मीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। उक्त क्याप्सुल एक किलो ५०० ग्राम रहेको र आपराधिक बजारमा ८ देखि १० करोड सम्म बिक्री हुनसक्ने एसपी रेग्मीले बताए। सारले ल्याएको कोकिनलाई लिन आएका दुई जना भारतीय नागरिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

