Friday, July 3

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

नेपालअखबार, पोखरा। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने ‘पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ। “पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध २१ जना पत्रकारको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। भ्रमणका क्रममा सहभागी पत्रकारहरूले पञ्चासेका प्रमुख पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले महिला पत्रकारहरूको भ्रमणले पञ्चासेको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Advertisement
Advertisement

पत्रकारहरूले आफ्ना समाचार, लेख तथा विभिन्न सञ्चारमाध्यममार्फत पञ्चासेको सम्भावनालाई व्यापक रूपमा उजागर गर्ने भएकाले यस कार्यक्रमले पर्यटन क्षेत्रलाई सकारात्मक टेवा पुग्ने उहाँको भनाइ थियो।

Advertisement

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कडेलले महिला पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस्ता अवलोकन भ्रमणले पत्रकारहरूलाई स्थानीय पर्यटनबारे प्रत्यक्ष जानकारी प्राप्त हुने र त्यसलाई समाचार तथा फिचरमार्फत जनसमक्ष पुर्याउन सहज हुने उहाँले उल्लेख गर्नुभयो। त्यसैगरी पञ्चासे होमस्टे समितिका सञ्चालक होमनाथ पौडेलले सञ्चारिका समूहको भ्रमणले पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। सञ्चारमाध्यममार्फत पञ्चासेको प्रचार–प्रसार बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भई स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो। भ्रमणका क्रममा सहभागीहरूले पञ्चासे क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृतिको संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिबारे समेत छलफल गरेका थिए।

सहभागीहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय तथा सञ्चार क्षेत्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान स्थापित गर्न र पर्यटन बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशले पनि सञ्चारमाध्यममार्फत पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई अझ प्रभावकारी रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ।