Tuesday, July 21

मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक

नेपालअखबार,काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

Advertisement

कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ । प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ ।

Advertisement
Advertisement

यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ ।

Advertisement

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ । मंगलबार बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्थाको मूल्याङ्कन गर्दै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) र वडा नं. २ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोका कारण दुई स्थानमा पूर्ण अवरोध रहेको छ ।

मकवानपुरको कान्तिलोकपथ (हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्ड) मा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको छ ।

यस्तै, रसुवाको पासाङ ल्हामु सडकखण्डअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–४ बोगटेखोला क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर सडकखण्ड र सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली राजमार्गमा पहिरोका कारण पूर्ण रूपमा यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।