Friday, August 21

रूसले युक्रेनसँग लड्न ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन लागेको जेलेन्स्कीको दाबी

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनसँग लड्नका लागि ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउन चाहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।

Advertisement

युक्रेनसँग चार वर्षभन्दा अघि देखि जारी युद्धमा लड्न आउन लागेका ती उत्तर कोरियाली सैनिकलाई स्वागत गर्ने रूसले तयारी समेत गरिसकेको जेलेन्स्कीले शनिबार जनाएका छन्।

Advertisement
Advertisement

रूससँग आपसी रक्षा सम्झौता गरेपछि उत्तर कोरियाले आफ्ना सैनिकलाई युक्रेनसँग लड्न पठाइरहेको छ। सन् २०२४ मा रूसको कुर्स्क क्षेत्रमा युक्रेनले कब्जा गरेपछि तीनलाई धपाउन उत्तर कोरियाले करिब १४ हजार सैनिक पठाएको थियो।

Advertisement

‘हामी रूस र उत्तर कोरियाको सहकार्य पनि देखिरहेका छौँ। रूस थप ३० हजार उत्तर कोरियाली सैनिक ल्याउन चाहन्छ,’ जेलेन्स्कीले आफ्नो रात्रीकालीन भिडिओ सम्बोधनमा भने, ‘उनीहरूलाई ल्याउनका लागि रूसको भोरोनेझ क्षेत्रमा जुन महिनादेखि नै तयारी भइरहेको छ।’

जेलेन्स्कीका अनुसार उत्तर कोरियाले रूसलाई ब्यालिस्टिक मिसाइलका लागि नयाँ लन्चरहरू उपलब्ध गराउने तयारी पनि गरिरहेको छ।

‘यो युक्रेनका लागि मात्र नभई सबैका लागि खतरा हो। रूसले उत्तर कोरियालाई कसरी युद्ध लड्ने, आफ्ना हतियारहरू कसरी सुधार गर्ने र तिनको प्रयोग गरी वास्तविक युद्धको अनुभव कसरी हासिल गर्ने भनेर सिक्न मद्दत गरिरहेको छ,’ उनले भने।यसले उत्तर कोरियाली मिसाइलको पहुँचभित्र पर्ने एसियाका प्रत्येक देशका लागि खतरा निम्त्याउने उनको भनाइ छ।

जेलेन्स्कीले युक्रेनले सो खतराको कडा जबाफ दिने प्रतिबद्धता पनि व्यक्त गरे।