
नेपालअखबार,काठमाडौँ । कुमारी बैंक लिमिटेड र डिजिटल ट्राभल सेवा प्रदायक कम्पनी निम्बजबीच रणनीतिक सहकार्य भएको छ। यस सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै
अन्तर्राष्ट्रिय eSIM र इन्टरनेशनल ड्राइभिङ पर्मिट (IDP) सेवा सहजै प्राप्त गर्न सक्नेछन्।
यो सुविधामार्फत विदेश यात्रामा जाने ग्राहकहरूले भौतिक सिम कार्ड परिवर्तन नगरी विभिन्न देशहरूमा मोबाइल डेटा प्रयोग गर्न पाउनेछन्। साथै, अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई पनि डिजिटल माध्यमबाट सरल र व्यवस्थित बनाइएको छ। ग्राहकले विदेश जानुअघि विभिन्न प्लेटफर्म धाउनुपर्ने झन्झटलाई अन्त्य गर्दै एउटै बैंकिङ एपबाट यी सेवाहरू उपलब्ध गराइएको बैंकले जनाएको छ।
बैंकिङ सेवालाई डिजिटल जीवनशैलीसँग जोड्ने उद्देश्यले गरिएको यस सहकार्यले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने दुवै संस्थाको विश्वास छ। निम्बजले आफ्नो ट्राभल टेक्नोलोजीलाई बैंकको सुरक्षित डिजिटल इकोसिस्टमसँग जोडेर नेपाली यात्रीहरूका लागि नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।




