
नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ।
आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछन्।
यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ।
अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ।
उक्त समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ।




