
नेपालअखबार,काठमाडौं । इरान युद्धका कारण अमेरिकी हतियार भण्डार रित्तिन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षामन्त्री पिट हेगसेथसँग रिसाएका छन्।
क्याम्प डेविडमा मन्त्रिपरिषद् बैठकपछि रक्षामन्त्री हेगसेथसँग छुट्टै बसेर छलफल गर्ने क्रममा रिसाउँदै ट्रम्पले हतियार भण्डार कसरी यति कमजोर अवस्थामा पुगेको भनेर स्पष्टीकरण मागेको अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ।
बैठकबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै पोस्टले जनाए अनुसार ट्रम्पले हतियार अभावको समस्या समाधान भइसकेको भनेर आफूले ठानेको तर अवस्था विपरीत देखिएको भन्दै असन्तुष्टि पोखेका थिए।
‘मलाई यो समस्या अगाडि नै समाधान भइसकेको भन्ने लागेको थियो,’ ट्रम्पको भनाइ उद्धृत गर्दै एक स्रोतले वासिङ्टन पोस्टसँग भनेका छन्।
क्याम्प डेभिडमा ट्रम्पको प्रश्नपछि हेगसेथले आफ्नो बचाउ गर्दै हतियार अभावबारे पर्याप्त जानकारी राष्ट्रपतिलाई नदिएको आरोप आफ्ना उपरक्षामन्त्री स्टिफन फाइनबर्गमाथि लगाएको दुई स्रोतले बताएका छन्।
मन्त्रिपरिषद बैठकमै यस्तो घटना हुनुले ट्रम्प र हेगसेथबीच इरान युद्धको विषयमा असन्तुष्टि बढ्न थालेको भनेर वासिङ्टन पोस्टले लेखेको छ।
इरानमा सैन्य हमला गर्नुपर्छ भन्नेमध्ये हेगसेथ पनि एक हुन्। उनले सुरूवातदेखि नै ट्रम्पलाई सैन्य कारबाहीका लागि प्रोत्साहन गर्दै आएका थिए। आक्रमण सुरू गर्दा युद्ध चाँडै सकिने र अमेरिकाले सहजै परास्त गरी चाहेअनुसारको सहमति गर्न सकिने विश्वास हेगसेथले ट्रम्पलाई दिलाएका थिए।
तर इरानले कुनै हालतमा घुँडा नटेकेपछि पाँच महिना बितिसक्दा युद्ध निर्णायक बिन्दुमा पुगेको छैन। उल्टै अमेरिकाको हतियार भण्डार रित्तिँदै लामो दूरीमा मार हान्ने मिसाइलहरू लगभग सकिन लागेको रिपोर्ट सार्वजनिक भएको छ।
मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि अमेरिकी हतियार भण्डार रित्तिँदै गएको भनेर सार्वजनिक गरेको थियो।
ह्वाइट हाउस र पेन्टागनले यस्ता समाचारहरूमा सत्यता नभएको भन्दै आएको छ।
‘त्यस्तो कहिल्यै भएको छैन। राष्ट्रपतिलाई हेगसेथप्रति पूर्ण विश्वास छ,’ मन्त्रिपरिषद बैठकको घटनाबारे ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन्।
पेन्टागनका मुख्य प्रवक्ता सन पार्नेलले पनि हेगसेथले राष्ट्रपतिलाई कुनै गलत जानकारी नदिएको र उपरक्षामन्त्रीलाई दोष नलगाएको दाबी गरे।
‘हतियार भण्डार सकिएको, आन्तरिक विवाद भएको वा इरानबारे रक्षामन्त्रीको भूमिकासम्बन्धी सबै दाबी काल्पनिक हुन्,’ उनले भने।
वासिङ्टन पोस्टका अनुसार लामो दूरीका निर्देशित मिसाइल र हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलको अभावकै कारण ट्रम्पले पछिल्ला दिनहरूमा इरानमाथि थप ठूलो सैन्य आक्रमणको योजना स्थगित गरेका हुन्।
ट्रम्पले सोमबार आफूले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो आक्रमण गर्ने आदेश दिएको तर हर्मुज जलमार्गबारे नयाँ वार्ताको सम्भावना देखिएपछि अन्तिम समयमा उक्त आक्रमण रोकिएको बताएका थिए।
अमेरिकाले प्याट्रियट हवाई प्रतिरक्षा मिसाइललगायत केही महत्वपूर्ण हतियार उत्पादनका लागि नयाँ सम्झौता गरे पनि ती मिसाइल उत्पादन हुन दुई वर्षसम्म लाग्न सक्ने भएकाले तत्काल अभाव टर्ने अवस्था नरहेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ।
समाचारअनुसार युद्ध सुरु भएको पहिलो महिनामै अमेरिकाले ८५० भन्दा बढी टमाहक क्रुज मिसाइल, एक हजारभन्दा बढी प्याट्रियट र थाड प्रतिरक्षा मिसाइल प्रहार गरिसकेको थियो।
त्यसबाहेक अमेरिकी सेनाले १,३०० भन्दा बढी एट्याकम्स रणनीतिक ब्यालिस्टिक मिसाइल पनि प्रयोग गरेको थियो।
युक्रेनलाई समेत आवश्यक पर्ने एट्याकम्स मिसाइलको अमेरिकी मौज्दात लगभग सकिएको अवस्थामा पुगेको एक स्रोतले जनाएको छ। रोयटर्सले पनि अमेरिकी एट्याकम्स भण्डार अत्यन्तै न्यून भएको समाचार प्रकाशित गरेको थियो।
हतियार अभावको असर मध्यपूर्वमा मात्र सीमित नरहेको वासिङ्टन पोस्टले जनाएको छ।
अमेरिकाले आफ्नै भण्डार घटेकाले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन कठिनाइ भएको छ। यसले युक्रेन रुसी लामो दूरीका मिसाइल आक्रमणप्रति थप असुरक्षित बन्दै गएको देखिएको छ। बुधबार बिहान मात्रै रूसले युक्रेनमाथि गरेको ड्रोन हमला रोके पनि मिसाइल भने रोक्न सकेन।
अमेरिकी अधिकारीका अनुसार इन्टरसेप्टर मिसाइल अभाव भएपछि अहिले अमेरिकाले आउने प्रत्येक मिसाइल वा ड्रोन खसाल्ने कि नखसाल्ने भन्ने निर्णय पनि त्यसले कति खतरा उत्पन्न गर्छ भन्ने मूल्याङ्कनका आधारमा गर्न थालेको छ।
यसअघि एनबीसी न्यूजले पनि अमेरिकी सेनाले यस्तो नयाँ रणनीति अपनाएको जनाएको थियो।
इरानसँगको युद्ध सुरु भएको पाँच महिनाभन्दा बढी बितिसक्दा पनि अमेरिका र इरानबीच कुनै निर्णायक अवस्था सिर्जना हुन सकेको छैन।
युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको र सयौँ घाइते भइसकेका छन्। साथै हर्मुज जलमार्ग बन्द हुँदा त्यसको दीर्घकालीन आर्थिक असरबारे अरब राष्ट्रहरूमा समेत चिन्ता बढेको वासिङ्टन पोस्टले जनाएको छ।
गत जुलाईमा सिनेट सुनुवाइका क्रममा पनि हेगसेथमाथि इरान युद्धका कारण अमेरिकी हतियार भण्डारमा परेको असरबारे ट्रम्पलाई वास्तविक जानकारी दिएको वा नदिएको विषयमा डेमोक्र्याट सांसदहरूले प्रश्न उठाएका थिए।
तर हेगसेथले राष्ट्रपति ट्रम्पलाई दिएको आफ्नो सैन्य सल्लाहबारे टिप्पणी गर्न अस्वीकार गर्दै हतियार अभावको जिम्मेवारी पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनमाथि थोपरेका थिए।
हेगसेथ, उपरक्षामन्त्री फाइनबर्ग र संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले इरान युद्धका कारण घटेको हतियार भण्डार पुनः भर्न थप ६७ अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउन कांग्रेससँग माग गरेका छन्। यद्यपि सिनेटका रिपब्लिकन सांसदहरूबीच त्यसबारे अझै सहमति हुन सकेको छैन।
आगामी आर्थिक वर्षका लागि ट्रम्प प्रशासनले १.५ ट्रिलियन डलरको रेकर्ड रक्षा बजेट प्रस्ताव गरेको छ, जसमा नयाँ मिसाइल निर्माणका लागि अर्बौँ डलर छुट्याइएको छ। तर डेमोक्र्याटहरूको विरोधका कारण उक्त बजेट कांग्रेसमा रोकिएको छ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकी सेनाले फेब्रुअरी २८ देखि अप्रिल ७ सम्म इरानभित्र १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो भने इरानबाट प्रहार गरिएका ८,५०० भन्दा बढी मिसाइल र ड्रोनलाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पारेको थियो।
यसअघि सन् २०२५ मा इजरायल–इरानबीचको १२ दिने युद्ध र अमेरिकी ‘अपरेसन मिडनाइट ह्यामर’का क्रममा मात्र अमेरिकाले आफ्नो थाड इन्टरसेप्टर मिसाइलको कुल मौज्दातको एक चौथाइभन्दा बढी खर्च गरिसकेको थियो।
रक्षा विश्लेषक तथा फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीजका वरिष्ठ निर्देशक ब्राड बोम्यानका अनुसार नयाँ उत्पादन सम्झौता भए पनि पर्याप्त बजेट, औपचारिक सम्झौता र उत्पादन प्रक्रिया पूरा नगरी हतियार तत्काल उपलब्ध हुँदैन।
‘आज निर्णय गरेर भोलि मिसाइल सैनिकको हातमा पुग्ने अवस्था हुँदैन। नयाँ हतियार उत्पादन भएर भण्डार भरिन वर्षौं लाग्न सक्छ,’ उनले वासिङ्टन पोस्टसँग भने।




