Sunday, August 16

जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

नेपालअखबार,काठमाडौं ।  अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ क्षेत्रमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

Advertisement

पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement
Advertisement

मृत्यु हुनेहरूमा सोही नगरपालिकाकाको वडा नम्बर २ सालधाराका ५२ वर्षीय केदार कार्की, ५४ वर्षीय उमासिंह खत्री र ८३ वर्षीया रति खत्री छन्।

Advertisement

कार्कीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उमासिंह र रतिलाई भने पहिरोबाट मृत अवस्थामा निकालिएको डिएसपी थापाले जानकारी दिए।

पहिरोमा परी ६२ वर्षीय राम बहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीय सुन्तली चदरा र ६१ वर्षीय भद्रकला कार्की घाइते भएका छन्।

घाइतेहरुमध्य राम बहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि नेपालगंज र सुर्खेततर्फ पठाइएको डिएसपी थापाले जानकारी दिए।

चिसापानीका ७० वर्षीय  भिम बहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। हरिस पहिरो पश्चात घरबाट निस्किएकोमा सम्पर्क विहिन भएका हुन्। खोजी तथा उद्धारका लागि परिचालित टोलीले उनीहरुको खोजीकार्य जारी राखेको  छ।

पहिरोले ८ वटा घरमा क्षति गरेको डिएसपी थापाले जानकारी दिए।

खोजीका लागि  नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी खटिएका छन्।