Thursday, May 21

जाजरकोटमा पहिरोबाट विस्थापितलाई शिविरमा राखिने

नेपाल अखबार, जाजरकाेट। गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर विस्थापित भएको रातो (क), घर भत्किएर आंशिक क्षति भई विस्थापित भएकालाई पहेँलो (ख) र घर भत्किएर आंशिक क्षति भई जोखिममा नरहेकालाई हरियो (ग) मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशील जमीनमा भएको क्षतिको विषयमा राहतको घोषणा गरिएको छ ।
मृतकका परिवार र पूर्ण वा आंशिक घर क्षति भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी, धारा, शौचालय, ट्याङ्की, काठेपुल तथा घट्ट  निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडि बढाउने भएको छ ।
गाउँपालिकाले विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर्ने जनाएको छ । वडा नं १ देखि ७ सम्मका विस्थापितलाई सम्बन्धित वडा कार्यालयले सुरक्षित ठाउँ छनोट गरी आधारभूत आवश्यकता परिपूर्ति गर्ने निर्णय गरेको छ ।  त्यस्तै प्रति मृतकका परिवारलाई रु २५ हजार दिने निर्णय गरिएको छ । पूर्णरूपमा क्षति भई बस्नै नमिल्ने घरलाई रु ५० हजार, आंशिकरूपमा क्षति भएका घरलाइ मर्मत गर्न रु १३ हजार दिने निर्णय भएको छ ।
गाउँपालिकालाई जोखिम रहेको स्थानीय तह घोषणा गर्न प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गरिएको छ । गाउँपालिकामा भूगर्भविदको प्रतिवेदनका आधारमा बस्ती बसाल्न र दीर्घकालीन योजना बनाउन प्रदेश र सङ्घीय सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको छ । गाउँपालिकामा खाद्य सङ्कट भएकाले १० हजार क्विन्टल चामल उपलब्ध गराउनसमेत माग गरिएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *