Tuesday, August 25

ब्यारेन ट्रम्पको हत्या गर्ने धम्कीबारे जानकार थियो अमेरिकी गुप्तचर सेवा

नेपालअखबार,वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारेन ट्रम्पलाई ज्यान मार्ने धम्की दिइएको देखिने इरानी सरकारी प्रसारकको भिडियोबारे अमेरिकी गुप्तचर सेवा (सिक्रेट सर्भिस) जानकार रहेको जनाएको छ ।

Advertisement

इरानको सरकारी प्रसारकले प्रसारण गरेको उक्त भिडियोबारे सिक्रेट सर्भिसले अनुसन्धान गरिरहेको जनाएको हो । अमेरिकी–इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको इरान युद्धको क्रममा इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका कैयौँ सदस्य मारिएपछि कट्टरपन्थी इरानी सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै ज्यान मार्ने धम्कीसहितका सामग्री पटक–पटक प्रसारण गर्दै आएका छन् ।

Advertisement
Advertisement

यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई समेत धम्की दिइएको थियो । तर, उनका छोरा ब्यारेनलाई सार्वजनिक रूपमा लक्षित गरिएको यो पहिलो घटना हो । ‘अमेरिकी सिक्रेट सर्भिस उक्त भिडियोबारे जानकार छ र हाम्रा सुरक्षा घेरामा रहेका व्यक्तितर्फ धम्कीका रूपमा बुझिन सक्ने जुनसुकै विषयमा अनुसन्धान गर्छ,’ सिक्रेट सर्भिसका प्रवक्ता नेट हेरिङले सीएनएनलाई दिएको विज्ञप्तिमा भने । ‘सञ्चालनगत सुरक्षाको कारण हामी सुरक्षा गुप्तचरसम्बन्धी विषयमा टिप्पणी गर्दैनौँ,’ उनले भने ।

Advertisement

करिब तीन मिनेट लामो भिडियोको अंग्रेजी अक्षरमा ‘ब्यारेन ट्रम्पलाई कहाँ मार्ने?!’ भन्ने ग्राफिक्सबाट लेखिएको हुन्छ । भिडियोमा ब्यारेन सार्वजनिक रूपमा जाने गरेको स्थानका शैलीबद्ध चित्रहरू देखाइएका छन्, जसमा न्यूयोर्कस्थित ट्रम्प टावर पनि समावेश छ । भिडियोको अन्त्यतिर वक्ताले मानिसहरू ‘हाम्रो १ करोड डलरको इनाम पाउन आतुरतापूर्वक पर्खिरहेको’ भनेका छन् । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीले उक्त भिडियो सप्ताहन्तमा प्रसारण गरेको थियो । आईआरआईबी इरानी शासनका कट्टरपन्थीसँग निकट मानिन्छ । यसका प्रमुखलाई इरानका सर्वोच्च नेताले प्रत्यक्ष नियुक्त गर्छन् ।

एक अमेरिकी संघीय कानुन कार्यान्वयन निकायका अधिकारीले सीएनएनलाई बताएअनुसार उक्त भिडियो ट्रम्प र उनको परिवारलाई लक्षित गरी इरानबाट जारी भिडियोहरूको अभियानकै हिस्सा हो । तीमध्ये केही भिडियोमा राष्ट्रपति परिवारका सदस्यहरूको आवतजावतसम्बन्धी विवरण र उनीहरूलाई मार्ने उपायबारे संकेतसमेत दिइएको छ । ती अधिकारीका अनुसार सिक्रेट सर्भिस, अन्य सरकारी निकाय, प्रहरी र विभिन्न देशबाट प्राप्त सुरक्षा सूचनाका आधारमा सुरक्षा व्यवस्थालाई निरन्तर परिवर्तन र समायोजन गरिन्छ ।

यस विषयमा टिप्पणीका लागि सीएनएनले ह्वाइट हाउससँग सम्पर्क गरेको छ । ‘म जुनसुकै सूचीमा छु… अहिलेसम्म म अलि भाग्यमानी रहेँ जस्तो लाग्छ, तर यस्तो लामो समयसम्म नहुन सक्छ । यी मानिसहरू दुष्ट र विक्षिप्त छन्,’  ट्रम्पले यसअघि सार्वजनिक रूपमै आफूविरुद्ध इरानी धम्कीबारे बोल्दै जुलाइमा भनेका थिए । ट्रम्पले टर्कीमा भएको नेटो शिखर सम्मेलनका क्रममा उक्त टिप्पणी गरेका थिए । टर्कीबाट फर्किने क्रममा ट्रम्प गोप्य रूपमा वैकल्पिक सैन्य विमानको प्रयोग गरेका थिए । खानपानका सामग्री ओसार्ने ट्रकभित्र लुकेर उनले विमान फेरेका थिए ।

घटनाबारे जानकार एक व्यक्तिले सीएनएनलाई बताएअनुसार उक्त धम्की काँधमा राखेर प्रहार गर्न सकिने क्षेप्यास्त्रसँग सम्बन्धित थियो । धम्की यति स्पष्ट थियो कि ट्रम्प एयर फोर्स वनका कुनै पनि विमानमा उड्दा उनको ज्यानमा अत्यन्त ठूलो जोखिम हुने भन्दै अधिकारीहरू चिन्तित भएका थिए । सन् २०२० मा ट्रम्पकै आदेशमा भएको ड्रोन हमलामा इरानका वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि अमेरिकाले लामो समयदेखि इरानले ट्रम्पको हत्या गर्ने प्रयास गर्न सक्ने चेतावनी दिँदै आएको छ ।

जुलाईमा दिवंगत खामेनीको अन्त्येष्टिसम्बन्धी कैयौँ दिन चलेका कार्यक्रमका क्रममा इरानी शासनका समर्थकहरू ‘ट्रम्पलाई मार’ लेखिएका पोस्टर बोकेर देखिएका थिए । उनीहरूले आफ्ना नेताको मृत्युको बदला लिनेलाई इनाम दिने घोषणा पनि गरेका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि धार्मिक शासन सत्तामा आएदेखि नै इरानमा सरकारले आयोजना गर्ने र्‍यालीहरूमा ‘अमेरिकालाई मृत्यु’ भन्ने नारा लगाउने र अमेरिकी झण्डा जलाउनेजस्ता अमेरिका विरोधी गतिविधि निरन्तर हुँदै आएका छन् ।