
नेपालअखबार, काठमाडाैँ। पोखराको फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र नामथर तथा ठेगाना नखुलेका करिब ४०–४५ वर्षीय पुरुष छन्। नवदीपको पहिचान आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरूलाई फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। उनीहरूको उद्धार गरी सोही अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
शुक्रबार बिहान करिब ४:५० बजे पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार सडकबाट करिब २० मिटर तल खसेर फेवातालमा पुगेको थियो।
दुर्घटनाको खबर पाएपछि वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। कारमा चार जना सवार रहेको खुलेपछि प्रहरीले तालमा खोजी गरेको थियो। खोजीका क्रममा बिहान ५:५५ बजे दुई जनालाई अचेत अवस्थामा उद्धार गरिएको थियो।
प्रहरीले भारतीय नम्बर बीआर ०५ बीबी ६७५९ को कार बिहान ६:२० बजे क्रेनको सहायताले तालबाट निकालेको थियो। कारलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
प्रारम्भिक अनुसन्धानमा चालकले कार नियन्त्रण गुमाउँदा सडकबाट तालमा खसेको देखिएको डिएसपी पासवानले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




